भैरहवा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी सीता भण्डारीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ परेका श्रीमान टीका पौड्याल, जेठाजू हरि पौड्याल र दिदी बिष्णु पौड्याललाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार थुनछेक बहसबाट पक्राउ परेका तिनै जनालाई पुर्पक्षको लागी थुनामा राख्न अदालतले दिएको आदेश भएबमोजिम जिल्ला कारागार पठाईएको हो ।
छोरीको हत्या नै भएको भन्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले बुटवल ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । ईलाका प्रहरी कार्यालय बुटवलले किटानी जाहेरी लिन नमानेपछि आन्दोलन सुरु भएको थियो ।
लगातार आन्दोलन हुन थालेपछि प्रहरीले आत्महत्या दुरुत्साहान मुद्धा दर्ता गरेको थियो । प्रहरीले मुद्धाका आधारमा श्रीमान टीका पौड्याल, उनकी दिदी बिष्णु पौड्याल, जेठाजू हरि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मृत्यु भएको करिब १ महिना हुन लाग्दा समेत मृतकको शव उठेको छैन ।
मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भण्डारी भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा भने सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै न्याय मागिरहेको थियाे । प्रहरीले पनि सीताले आत्महत्या गरेको रिपाेर्ट सार्रवजनिक गरेको थियाे ।