भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले लुम्बिनी प्रदेश आत्मनिर्भर हुन सम्भव रहेको बताएका छन् । उनले यो प्रदेश समृद्धको सबैभन्दा अनुकुल भुभागमा रहेको प्रदेश भएको बताए । लुम्बिनी प्रेस क्लब भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार–२०७७ वितरण समारोहलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री केसीले ‘समृद्ध लुम्बिनीको सपना सबैको साझा सपना बनोस्, आत्मनिर्भर बन्ने बाटोमा लाग्नुपर्छ, परनिर्भरताबाट मुक्त हुन आवश्यक रहेको बताए ।
सबै क्षेत्र खुल्ला गर्दा महामारीको अर्को प्रकोप आउन सक्ने जोखिम पनि रहेकाले ठूला चाडपर्व मनाउन नेपाल फर्केका नेपालीलाई मापदण्ड थपेर सहज रुपमा आउन दिने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । गौतमबुद्ध जन्मस्थल लुम्बिनी अन्तर्राष्ट्रिस्तरमै आकर्षणको केन्द्र बनेको मुख्यमन्त्री केसीले बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले मिडिया सञ्चालन गर्न अत्यन्तै चुनौतीपूर्ण अवस्था रहेको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले मिडिया क्षेत्रका लागि सरकारले राहत उपलब्ध गराउन नसकेको बताए ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रेस क्लबका सल्लाहकार लुम्बिनी प्रेस क्लब भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कारका संस्थापक नारायण प्रसाद सापकोटा, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, भैरहवा मर्निङवाक गु्रपका अध्यक्ष विजय गोविन्द श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका महासचिव कमल रायमाझी, क्लबका कार्यसमिति सदस्य शशि पन्थी लगायतले बोलेका थिए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीको अध्यक्षता, उपाध्यक्ष सम्झना शर्माको स्वागत तथा सचिव शंकर पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा क्लबका महासचिव कमल रायमाझीलाई लुम्बिनी प्रेस क्लब भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार–२०७७ प्रदान गरिएको थियो । रायमाझीलाई रु. ५० हजारसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको हो ।