बुटवल । रोटरी क्लव अफ बुटवल वर्ष २०२१/२२ को १५ औं एवं क्लवको १३८५ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ ।
बिजनेश एजेण्डा रहेको बैठकमा विजादशमी, तिहार, छठ एवं नेपाल संवतको शुभकामना आदानप्रदान गरिएको थियो । त्यस अवसरमा बोल्ने वक्ताहरुले स्वास्थ्य मापदण्ड अपनाएर, सामाजिक दूरी कायम गर्दै र स्वास्थ्यको ख्याल गर्दै चाडपर्व मनाउन आग्रह गरेका थिए ।
क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकमा क्लवका पुर्व अध्यक्ष डिल्लीकुमार श्रेष्ठले वर्ष २०१९/२० को अवार्ड सेरेमनीबारे जानकारी गराएका थिए । उनले उक्त वर्ष क्लवले विभिन्न १५ वटा विधामा अवार्ड प्राप्त गरेको जानकारी दिए ।
बैठकमा क्लवका सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकले गरेका निर्णयहरुबारे जानकारी गराएका थिए । त्यस अवसरमा रोटरीयनहरु कृष्णप्रसाद पराजुली रुपन्देही उद्योग संघको प्रथम उपाध्यक्ष एवं गोविन्द प्रसाद गैरे राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलको अध्यक्षमा निर्वाचित भएकोमा हर्षबढाईं गरिएको थियो ।
बैठकमा क्लवका चार्टड प्रेसिडेन्ट हुतानन्द खनाल, निवर्तमान अध्यक्ष सुनिल श्रेष्ठ, रोटरीयनहरु गोविन्द गैरे, गणेश ज्ञवाली, मन्जु थापालगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।