भैरहवा । गत भदौ ४ गते दिउँसो २ः५६ मा लु २ च २५० नम्बरको पिकअप गाडि भैरहवा भन्सार कार्यालय प्रवेश ग¥यो । ११ पोका मोटरपार्टस भएको भनी भन्सार एजेन्ट केशब अधिकारीले विवरण पेश गरे । पोका भित्र मोटरपार्टसको डोरभिसोर ५० सेट, हेडरेष्ट २०० सेट, आल्मुनियम रड १६ पिस, आइरन हेन्डल ५० पिस, रेसलाइनर २ सय सेट भनी भन्सार एजेन्ट अधिकारीले पेश गरेको विवरणलाई आधारमानी प्रज्ञापनपत्र नम्बर १०४५५८ राखियो ।
४२ हजार ९ सय २४ रुपैँया बैंकमा राजश्व दाखिला गरेपछि बेलुका ५ बजे गाडि भैरहवा भन्सार कार्यालयबाट बाहिरियो । भन्सार कार्यालयको गेट परिसरमा बसेर साँझ परेपछि मात्रै गाडि भैरहवा प्रस्थान गर्यो ।
भारतको इन्डियन ट्रेडिङ कम्पनीबाट सामान लोड गरेको उक्त गाडिले सिद्धार्थ नगरपालिका वडा नम्बर ६ गल्लामण्डीमा रहेको दिनेश कुमार त्रिपाठीले सञ्चालन गरेको आर डि इन्टरनेशनल गु्रप प्राइभेट लिमिटेडमा आउने समान थियो । गाडिले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ अञ्चलपुरमा रहेको लाइभगार्ड इन्टरनेशनल ट्रेड हाउसमा समाना झार्न पुग्यो र घटना बाहिरियो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको नेतृत्वमा खटिएको ९ जनाको मोवाइल गस्ती टोलीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, दरखसवा बस्ने सहिद भनिने अमानत अलि धुनियाकोे घरबाट ती स्टिकर बरामद गरेको थियो । सो गाडीमा र सहचालक महमत साही अन्सारी रहेका थिए । उनी पनि पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाले २ लाख ४० हजार वटा आन्तरिक राजश्व विभागको नक्कली स्टिकरसहित पिकअप गाडी पक्राउ गरेको थियो ।
अन्तशुल्क खासगरी मदिराजन्य बस्तुहरुको कारोबार गर्नेले इजाजत पत्र लिएर काम गर्ने हुनाले सानै व्यवसायी भएपनि अन्तशुल्कका रुपमा कर तिर्नु पर्दछ । त्यस्तो इजाजतपत्र आफूसँग सम्बन्धित रहेको कार्यालय वा करदाता सेवा कार्यालयमा पाइन्छ । त्यहाँबाट अनुमति प्राप्त गरेपछि इजाजतपत्र प्राप्त गर्ने समयमा नै केही पैसा तिरे पुग्छ ।
राजस्व कार्यालयको प्रारम्भिक अध्ययन अनुसार बरामद गरिएको ती स्टिकरबाट २ करोड ३५ लाख रुपैयाँ भन्दा धेरै राजश्व छलि हुन सक्ने अनुमान गरिएको थियो । आन्तरिक राजश्व कार्यालयको अन्तःशुल्क अधिकृतको प्रत्यक्ष निगरानीमा मदिरामा स्टिकर लगाउन र बिक्रि वितरणको लागि लैजान पाइने नियम छ ।
गोदाममा रहेको अन्तःशुल्क लाग्ने वस्तु बिक्री वितरण वा ओसार पसार गर्न गोदाम बाहिर निकाल्दा आफ्नो उपस्थितिमा त्यस्तो वस्तु निकाल्न लगाइ सोको लगत प्रतिष्ठानको उत्पादन स्थलमा राख्न लगाउने, विभागबाट माग गरिएको अन्तःशुल्क लाग्ने वस्तुको उत्पादन वा बिक्री वितरण वा गोदाममा रहेको वस्तुको परिमाण र असुल उपर भएको अन्तःशुल्क वा विभागले मागेको अरू कुनै कुराको प्रतिवेदन विभागमा पठाउने, र अन्तःशुल्क लाग्ने वस्तुको उत्पादन वा बिक्रीको विवरण अनुसूची–४ बमोजिमको दैनिक किताबमा राख्न लगाउने हो ।
भन्सार नाकाबाट अन्तःशुल्क लाग्ने वस्तु पैठारी भएको अवस्थामा पैठारी गर्ने इजाजतपत्रवालाको नाम, पैठारी गरिएको वस्तुको परिमाण र मूल्य स्पष्ट खुल्ने गरी दैनिक किताबमा जनाइ राख्ने, इजाजतपत्रवालाले नियम १३ बमोजिम पूरा गर्नु पर्ने काम, कर्तव्य पूरा गरे नगरेको समय समयमा निरीक्षण गर्ने, अन्तःशुल्क लाग्ने वस्तु उत्पादन गर्ने प्रतिष्ठानको मासिक रूपमा निरीक्षण गरी अन्तःशुल्क निर्धारण गर्ने रहेको छ ।
आन्तरिक राजश्व कार्यालय भैरहवाका नवराज पौडेल अन्तःशुल्क अधिकृत भएपनि उनी मदिराजन्य उत्पादन कम्पनीमा पुगेको देखिँदैन । उनले स्टिकर टाँस गर्न क्रिष्टल बोटर्लस प्रा।लि।मा नायब सुब्बा प्रकाश पाण्डेलाई पठाउने गरेका छन् । माउन्ट एभरेष्ट प्रालिमा नायब सुब्बा जीवन पाण्डेलाई पठाएको पाइन्छ । रेन्बो डिष्ट्रिलरी र किसान डिष्ट्रिलरीमा सुब्बा मदन गौतलाई पठाएको पाइन्छ ।
रुपन्देही र नवलपरासी आन्तरिक राजश्व कार्यालय भैरहवाले हेर्ने गर्छ । नवलपरासीको विजय डिष्ट्रिलरीमा अधिकृत मनोज कुमार पाण्डे, राजबु्रअरीमा योगमाया न्यौपाने, माउन्ट एण्ड लिकर्स र सुनछहारी मदिरा उद्योगमा दिनहरि सापकोटा, शशी डिष्ट्रिलरीमा यज्ञप्रसाद भट्टराई, अरुण डिष्ट्रिलरीमा नारायण पाण्डे, लायत डिष्ट्रिलरीमा नारायण बन्जाडे, हिमाली डिष्ट्रिलरी र सुन्दरी डिष्ट्रिलरीमा कृष्ण पन्थीको रोहबरमा स्टिकर टाँस गर्ने गरेको आन्तरिक राजश्व कार्यालय भैरहवाको तथ्याङ्मा पाइन्छ ।
राजश्व छलिको स्टिकर बरामद गरेको महिनौ दिन बिति सक्दासम्म पनि राजश्व अनुसन्धान कार्यालय बुटवलले अहिलेसम्म अनुसन्धान गर्न सकेको छैन । अनुसन्धान भइरहेको बताए पनि अनुसन्धान कहाँ पुग्यो त्यो सम्मपनि सञ्चारकर्मीलाई नखुलाई गुपचुप राखेको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १७ मा २०६९ सालदेखि संचालन रहेको क्रिष्टल बोटलर्स प्रालिमा भदौ २५ गते राजश्व अनुसन्धान कार्यालयले शंकाको भरमा छापा हानी सिल ग¥यो । राजश्व अनुसन्धान कार्यालयले बिना तथ्य आफ्नो उद्योगमा सिल गरेर दुःख दिएको छ यदि हाम्रो स्टिकर हो भन्ने कुनै प्रमाण फेला पर्न सक्छ भने कारवाही भोग्न तयार छौं कम्पनीका कार्यकारी निर्देशक सन्दिप क्षेत्री भने ।
गत भदौ २६ गते तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा रहेको माउन्ट एभरेष्ट डिष्ट्रिलरीमा राजश्व अनुसन्धान कार्यालय बुटवलले सिल गरेको छ । सञ्चालक प्रविन्द्र श्रेष्ठ सिल गरेको विषयमा बुझ्न खोज्दा सम्पर्कमा आएका छैनन् । क्रिष्टल बोटर्स प्रालिले हाम्रो स्टिकर होइन अनायासै फसाइयो भनेर बताइ रहँदा माउन्ट एभरेष्टका सञ्चालक श्रेष्ठ सञ्चारकर्मीसँग सम्पर्कमा आउन चाहेनन् ।
स्रोतका अनुसार कोटिहवाको टाइगर प्यालेस नजिकै रहेको रेन्बो डिष्ट्रिलरी पनि सङ्काको घेरामा रहेको बताउँछन् । तर, स्रोतले बताएको विवरणका आधारमा सञ्चालक मिनराज भूसाललाई सम्पर्क गर्दा उनले आफूले यस्तो काम नगरेको र नगर्ने बताउँदै कुनै प्रमाणबाट आफ्नो भएको भन्ने भेटिन्छ भने उद्योग नै बन्द गर्न तयार रहेको हाम्रो ग्राउन्ड रिपोर्टको टिमलाई टेलिफोन मार्फत बताएका छन् ।
आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख मुक्तिराम आचार्यले स्टिकर कसको हो भन्ने विषय आफूहरुको चाँसोको विषय नभएको बताउँदै १ वर्षसम्म लागेको स्टिकरको रिपोर्ट अनुसन्धान कार्यालयलाई बुझाएको अन्य कुरा नबोल्ने बताए ।
राजश्व अनुसन्धान कार्यालय बुटवलका सूचना अधिकारी धनिश्वर अर्यालले गहनका साथ लिएर सुक्ष्म ढंगबाट अनुसन्धान जारी भएको मौखिक बताउँछन् । यही कुरालाई क्यामेरामा बताउनुहोस् भन्दा माथिको आदेश छैन भन्दै बोल्न चाहँदैनन् । उनी भन्छन् ‘हामीले कसुर ठहर्याउँदा तथ्य र प्रमाण जुटाएर प्रमाणित गर्नु पर्ने हुन्छ । अनुसन्धानको प्रक्रिया लामो पनि हुन सक्छ’, नक्कली स्टिकर बरामद हुनासाथ कतिपय डिष्टिलरीमाथि शंकाको घेरामा राखेर अनुसन्धान थालेका हौं । अहिले पनि अनुसन्धान जारी छ ।’
राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजनकुमार बिसी अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिएका छन् । राजश्व अनुसन्धान कार्यालय बुटलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राजेश पन्थी आएका छन् । अनुन्धान कहाँ पुग्यो रु भनेर सोध्दा केही बताउन चाहँदैनन् ।
गाडी चालक अली भन्छन् भन्सार एजेन्ट केशब अधिकारीको काम गर्ने व्यक्ति हरि पौडेल र राजा भनिने विनय कसौधनले ११ बोरा सामाना लोड गरेपछि भन्सार भित्रबाट नै २ पोका स्टिकर राखिदिएको हो । राजा भनिने विनयले शसस्त्र प्रहरी डण्डा पुल कटेपछि त्यो भन्सारबाट हालिएको २ पोका सामान राजश्व छलिका स्टिकर हो तेरो घर लगेर राखनु भनेका थिए । भैरहवा भन्सार देखि डण्डापुल नकट्दा सम्म राजाले पैदल यात्रा गरी स्कटीङ् गरेका थिए ।
गाडी चालक र सहचालकलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बुटवलको हिरासत कक्षमा राखिएको छ । गाडिचालकले घटनाको विवरण राजश्व अनुसन्धान कार्यालय, आन्तरिक राजश्व कार्यालय लगायतको अनुसन्धानको टिमलाई बताइरहँदा समेत उल्टै आफूहरुलाई थर्काउने गरेको बताएका छन् । स्टिकरको सिरियल मिल्दा समेत कुनै अनुसन्धान हुन सकेको छैन । गाडी चालकले स्टिकर राख्ने व्यक्तिहरु भैरहवा भन्सार कार्यालयको सिसिटिभिमा रहेको बताइ रहँदासम्म पनि कर्मचारी र ओसारपसारमा सङ्लग्न व्यक्ति पक्राउ गर्न नसक्नु ठूलै रहस्य भएको बुझिन्छ ।
राजश्व अनुसन्धान कार्यालय बुटवल र आन्तरिक राजश्व कार्यालय भैरहवा मौन बस्नुले मिलोमतो होकी भन्ने सङ्का गर्ने आधार तयार भएको छ । प्रमुख पन्थी बुटवल कार्यालय समाल्न आएपछि गत असोज १४ गते उद्योगको सिल खोलिएको छ तर बिक्रि वितरणको लागि रोक लगाइएको छ । -आर्थिकन्यूज