Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आज नवरात्रको सातौँ दिन, कालरात्रि देवीको पूजा गरिँदै, फूलपाती भित्र्याइने


  • लुम्बिनी चिन्तन
  • आश्विन २६, २०७८ मंगलवार
  • 796
    SHARES

आज नवरात्रको सातौँ दिन, कालरात्रि देवीको पूजा गरिँदै,  फूलपाती भित्र्याइने

नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ।

नवरात्रको पहिलो दिन असोज २१ गते दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको ठाउँमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । यस वर्ष षष्ठी तिथि टुटेकाले स्कन्दमाता र कात्यायनी दुवै देवीको एकैदिन पूजा गरिएको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

आज दशैँको फूलपाती । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।  

नौ वटा  देवीको प्रतीकका रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।  फूलपाती भित्र्याएपछि नौवटा  देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि गौतमले जानकारी दिनुभयो । हनुमानढोका दरबारको दशैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँ घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाण्डौको जमलसम्म काठमाण्डौबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । यस वर्षको फूलपाती आज दिउँसो साढे चार बजे भित्र्याइँदै छ ।

आजैका दिनदेखि दशैं बिदा पनि सुरु भएको छ । दशैँको पाँच दिन बिदा हुने गरेकाले सरकारी कार्यालय पनि बन्द हुन्छ ।


लुम्बिनी चिन्तन

थप समाचार