आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ ।
दशैंघर, कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा र दुर्गा सप्तशती (चण्डी), श्रीमददेवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेंडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।
पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।
यसैबीच, हनुमानढोका दरबारमा रहेको वर्षमा एक पटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने गर्छन् ।
जसरी घटस्थापना गर्नको लागि शुभ समयको अति आवश्यक छ, विजयादशमीको दिन टीका लगाउन पनि यसैगरी शुभ समयको आवश्यक पर्छ । घटस्थापनाको शुभसाइत ११ बजेर ४६ मिनेटमा तोकिएको थियो । त्यस्तै देवी विसर्जनको लागि पनि त्यो उत्तम समय अति महत्त्वपूर्ण हुन्छ । त्यो भनेको टीकाको दिन बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्ने हो।
साइत भनेको राम्रो समय हो । जे काम गर्नका लागि पनि राम्रो समयबाट सुरु गर्यो भने त्यसको फल राम्रो हुन्छ भनेर भनिएको हो । सुरुवात गर्नको लागि सबैभन्दा राम्रो समय भनेर पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको समय बिहान १० बजेर ०२ मिनेट हाे ज्यो. पं. सूर्यप्रसाद ढुङ्गेलले भन्नुहुन्छ ।
तर, त्यो समयमा भ्याइएन भने साइत गयो टीका लगाउन हुँदैन भन्ने छैन । देवीको प्रसाद मान्यजनको हातबाट आशीर्वचन साथमा टीका लगाउने हुनाले जहिले पनि गर्न सकिन्छ । तर, सबैभन्दा पहिले सुरु गर्नको लागि राम्रो समय भनेको १०ः०२ मिनेट पण्डित ढुङ्गेलले भन्नुहुन्छ ।
त्यो भ्याइएन भने दिनभरि, राति सुत्नु अगाडि पनि लगाउन सकिन्छ । हाम्रो पूर्णिमाको दिनसम्म पनि टीका लगाउने चलन छ । माइती, मावली, ससुराल सबैतिर यता, त्यता जाँदा अर्कै उत्साह हुन्छ । एकैदिन एउटै समयमा त सम्भव छैनन् ।
पूर्णिमा नभइ दशैँ सकिँदैन । देवीको आराधना चाहिँ नवरात्र सकिएपछि सकिन्छ । त्यही प्रसाद पछि लगाउने हो । यदि विजयादशमीको दिन बिहान १० बजेर ०२ मिनेटमा टीका लगाउन भ्याइएन भने जतिखेर लगाए पनि केही फरक पर्दैन पण्डित ढुङ्गेलले भन्नुहुन्छ । -उज्यालाेबाट
ज्यो. पं. सूर्यप्रसाद ढुङ्गेलसँगको थप कुराकानी सुन्न यहाँ क्लिक गर्नुस