भैरहवा । आज दसैंका दिन भैरहवाका बजार सुनसान छन । टिका लगाउनेहरू दसै मनाउन परिवार र अाफन्त कहा र टिका नभएकाहरू घुमघाममा बाहिर निस्के पछि भैरहवा बजार सुनसान भएकाे हाे । मधेश र पहाडकाे मिस्रित बसाइ रहेकाे याे क्षेत्रकाे गल्लामणडी लगायतका क्षेत्रमा केही चहल पहल भएपनि अधिकांस क्षेत्र सुनसान नै रहेकाे छ । विभिन्न काम विशेषले सहरमा बसेकाहरू दसैँ मान्न गाउँघर गएपछि बजार क्षेत्र तथा सडकहरू सुनसान बनेका हुन् । अब केही दिन सहरबजार सुनसान हुनेछन् । अधिकांश व्यापारिक पसलहरू पनि बन्द भएका छन् ।
मुख्य राजमार्गमा सवारी साधनको संख्या अत्यन्त न्यून भएको छ । बसपार्क तथा सडकमा सार्वजनिक सवारीसाधनको संख्या नगण्य देखिएको छ ।
दसैँको बेला सबैक्षेत्र सुनसान भएसँगै अस्पतालहरूमा पनि बिरामीहरूको चाप घटेको छ ।
पछिल्लो तीनचार दिनयता फलफूलको व्यापार ह्वात्तै बढेको छ । दसैँ मनाउन गाउँ जानेहरूको संख्या बढ्दै गएकाले फलफूलको व्यापारमा पनि बृद्धि भएको व्यापारीहरू बताउँछन् । स्याउ, केरा, अनार, सुन्तला, अम्बा, नरिवल लगायतका फलफूलको व्यापार पछिल्लो एकसाता यता बढेको खुद्रा व्यापारीहरू बताउँछन् । गतवर्ष कोरोना महामारीका कारण चाडपर्वमा समेत सर्वसाधारण जुट्न नसक्दा सुस्ताएको फलफूलको व्यापार यसवर्ष भने राम्रो भएको व्यापारीहरूको भनाइ छ ।
वर्षैभरी देश र जनताको सेवा र सुरक्षामा खटिने सुरक्षाकर्मीले बडादसैँको अवसरमा पनि बिदा पाउँदैनन् । सर्वसाधारणले खुसीयालीपूर्वक चाडपर्व मनाइरहंदा सर्वसाधारणको सुरक्षाको लागि खटिने सुरक्षाकर्मीको दसैँ भने निराश बन्ने गर्छ । निधारमा रातो टीका र जमरा लगाएर आफन्तकहां हिंड्ने सर्वसाधारणलाई हेरेर सुरक्षाकर्मीहरू रमाइलो मानिरहेका हुन्छन् । दसैँ नजिकिदै गर्दा बुटवलका हरेक चोक र सडकहरूमा पहिलेभन्दा सुरक्षाकर्मीहरूको उपस्थिति बाक्लिएको छ । सर्वसाधारण चाडपर्व मनाउन व्यस्त भइरहंदा अपराधिक मनोवृत्तिका व्यक्तिहरूको सक्रियता बढ्नसक्ने भएकोले सुरक्षाकर्मीहरू चाडपर्वमा बढी चनाखो हुने गर्छन् ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख मुकुन्दराज आचार्यले सर्वसाधारणलाई निदाउन दिन सुरक्षाकर्मीहरू जागै बस्नुपर्ने भएकोले चाडपर्वमा अझै बढी सतर्क बन्नुपर्ने बताउँछन् ।
चाडपर्वलक्षित सुरक्षा योजना अगाडि सारी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । दसैँको समयमा सडकमा सर्वसाधारणको आवतजावत बढी हुने भएकोले सडकमा आवतजावत भइरहेका सवारी चेकजांच गर्ने र मास्कको प्रयोग गर्न लगाउने समेतको जिम्मेवारी सुरक्षाकर्मीले गर्दै आएका छन् । कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर निरन्तर खटिएका सुरक्षाकर्मी दसैँमा पनि घर जान नपाउँदा मन खिन्न हुने गरेको बताउँछन् । आफू कार्यरत कार्यालयभित्रै अग्रजबाट टीका लगाएर र आफूले मातहतका सुरक्षाकर्मीलाई टीका लगाइदिएर दसैँ मनाउने प्रहरी अधिकृतहरू बताउँछन् ।