बुटवल । नेपाल अडिटर्स एशोसिएसनका केन्द्रीय प्रथम उपाध्यक्ष बद्री भट्टराई संगठन निर्माणलाई जोड दिँदै अडान अगाडि बढनुपर्ने बताएका छन । नेपाल अडिटर्स एशोसिएनस (अडान) लुम्बिनी प्रदेश समितिको पाँचौ परिषदमा बोल्दै उनले २२ वटा सीपीई सञ्चालन हुने तयारीमा रहेको बताए ।
भट्टराईले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ऐन २०५३ तथा नियमावलीमा रजिष्टर्ड अडिटरहरुलाई लादिएको विभेदकारी व्यवस्था खारेज गरी सबै सदस्यहरूलाई समान अधिकार राज्यले प्रदान गर्नुपर्ने बताए ।
कार्यक्रममा अडानका केन्द्रीय उपाध्यक्ष अब्दुल कर्मी खाँ ले सिएहरुले वित्तीय र कानूनी दायित्वप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए । उनले अडानका सदस्यहरुले क्षमता अभिवृद्धि गर्न आवश्यक रहेकोमा जोड दिए । अडिटर्स पेशाप्रति अवसर र चुनौती दुवै थपिँदै गएकोले लेखा परीक्षण के हो भन्ने कुरा नेपाली समाजलाई बुझाउन जरुरी रहेको खाँ को जोड छ ।
अडानका महासचिव झलकमणि लम्सालले लेखापरीक्षकहरु सुरेरियर होइन सबैको भावनालाई कदर गरेर काम गर्नुपर्ने बताए । नेपाल अडिटर्स एशोसिएनस (अडान) लुम्बिनी प्रदेश कार्य समितिका अध्यक्ष गोविन्द प्रसाद रेग्मीले लुम्बिनी प्रदेशमा गैर लेखा व्यवसायीहरुले कार्यालय खोली वा नखोली लेखापरीक्षणको नाममा अनधिकृत रुपमा काम गरिरहेकोले त्यस्ता कार्यलाई तत्काल रोक्न र कारवाही गर्न आग्रह गरे । उनले पेशामा रहेका योग्य दर्तावाल लेखापरीक्षकहरुलाई वर्गोन्नति गर्न आग्रह गरे ।
कार्यक्रममा केन्द्रीय सचिवद्वय सावित्री शर्मा, शंकर ज्ञवाली, केन्द्रीय सल्लाहकार डीआर शर्मा, छवि पोखरेल लगायतले बोलेका थिए । अडान लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष गोविन्द्र प्रसार रेग्मीको अध्यक्षता, प्रदेश सदस्य गोविन्द प्रसाद अर्यालको स्वागत तथा सचिव ओमबहादुर मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । परिषदमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका चार्टर्स एकाउन्टेन्टसहरुको सहभागिता रहेको थियो । नेपालमा करिब ७ हजार दर्तावाल लेखापरीक्षकहरु रहेका छन् । अडानको पाँचौ राष्ट्रिय परिषद यहीँ फागुन २८ गेत काठमाडौंमा हुँदैछ । ‘राष्ट्रिय समृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्धि हाम्रो अडान’ भन्ने नारा रहेको छ ।