सैनामैना । सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले वर्षाका कारण धानबालीमा क्षति पुगेका गरिब तथा विपन्न परिवारका किसानहरुलाई राहत उपलब्ध गराईने बताउनुभएको छ ।
नगरमा पाँच दिने मौरीपालन तालिमको उद्घाटन कार्यक्रममा बोल्दै कार्कीले आईतबार र सोमबार परेको वर्षाका कारण सैनामैनामा पनि धानबाली नष्ट भएको बताउँदै विपन्न किसानहरुलाई राहत उपलब्ध गराइने बताउनुभएको हो । मेयर कार्कीले बुधवारदेखि नगरमा धानबालीको क्षतिका बारेमा विवरण संकलन सँगै अनुगमनमा तिव्रता दिइने बताउनुभयो । उहाँले भन्नभयो –“भोली देखी हामी किसानको खेतबारीमा जान्छौ, बर्षाले धान बालीमा पु¥याएको क्षतीको अनुगमन गरि किसानलाई सक्दो राहत उपलब्ध गराउने छौँ । ”
कार्कीका अनुसार क्षतिको विवरण संकलनपछि सैनामैनाको बिपद् ब्यवस्थापन समिति मार्फत सक्दो सहयोग उपलब्ध गराइने भएको हो ।
त्यस्तै मंगलबारदेखि सुरु भएको ५ दिने मौरीपालन तालिमको शुभारम्भ गर्दै कार्कीले नगरमा मौरी पालन व्यावसायबाट प्रशस्त लाभ लिन सक्ने धारण राख्नुभयो । सैनामैनाको चुरे क्षेत्रमा मौरी लक्षित बोट बिरुवा लगाएमा यहाँका २५ प्रतिशत नगरबासीले आय आर्जन गर्न सकिनेमा जोड दिनुभयो ।
यस अघि नै नगरपालिकाले चिउरीकोे बोट रोपेर हेरालु ब्यवस्थापन गरी केही विरुवा हुर्काउन सफल भएको र यसबाट भविष्यमा मौरी पालक किसानलाई टेवा पुग्ने समेत मेयर कार्कीको बिश्वास छ ।

सैनामैना नगरपालिकामा अगामी बर्षबाट एक घर एक चिउरीको बोट अभियान सुरु गरिने नगरपालिकाले जनाएको छ । कोभिड – १९ उद्धार तथा सामाजिक तथा आर्थिक प्रतिकार्य पहल परियोजनाका युएनडिपि, सैनामैना नगरपालिकाको आर्थिक सहयोग र सेतो गुराँस बालविकास संस्थाको ब्यवस्थापनमा मौरी पालन तालिम संचालन गरिएको सेतोगुराँस बालबिकास संस्थाका कार्यकारी निर्देशक शुमित्रा शर्माले जानकारी दिनुभयो ।
नगरमा मौरी पालन स्रोत केन्द्र बनाउने र परम्परागत मौरीपालनबाट आधुनिक मौरी पालन तर्फ मौरी पालक किसानलाई लैजाने उद्देश्यले तालिम संचालन गरिएको शर्माको भनाई छ । नगर कृषि शाखा अधिकृत सृजना खनाल सुवेदीका अनुसार नगरपालिकाले दिर्घकालिन सोच राखेर मौरी व्यवसायलाई टेवा पुग्ने गरि सामुदायिक बनमा चिउरीको बोट समेत रोपिसकेको छ ।
सैनामैनामा यस प्रकारको तालिमले सैनामैनाका मौरी पालक किसानलाई धेरै फाईदा पुग्ने सैनामैना मौरीपालन संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भयो । ५ दिने मौरी पालन तालिममा सैनामैनाका २८ जना मौरी पालक किसान सहभागि भएका छन् ।
सैनामैना ६ हृवाइट हाउस पार्टी प्यालेसमा भएको कार्यक्रममा सैनामैनाका उपप्रमुख बिना राना, सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी,पशु विकास शाखा अधिकृत इन्द्र खड्का लगायतको सहभागिता थियो । ५ दिने मौरीपालन तालिममा बरिष्ठ मौरी विशेषज्ञ अनुरुद्ध्रनाथ शुक्लाले प्रशिक्षण गर्नुहुनेछ ।
कार्यक्रम सेतो गुरास बाल बिकास संस्थाका सचिव मञ्जु श्रेष्ठको अध्यक्षता तथा सेतो गुराँसका विनोद विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको हो ।