भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तस्करी नियन्त्रणमा सक्रियता देखाएसँगै दिनानुदिन अवैध बस्तुहरुको नियन्त्रण भइरहेको छ । कहिले थोरै त कहिले धेरै जिल्लाका विभिन्न क्षेत्रबाट तस्करीका सामान बरामद भएको छ ।
बुधबार बिहानै कार्यालयले गाडी सहित ठूलो परिमाणमा सामान बरामद गरेको छ । बिहान करिब ४ बजे विशेष सू्रचनाको आधारमा बुटवल उपमहानगरपािलका १, तिनाउ पुल बाट ५१ लाख ४८ हजार ५ सय रुपैया बराबारको अवैध सामाग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारयण थापाले बताए ।
लु१ज ४६३६ र लु१ज ३७८७ नम्बरको जिप चेकजाच गर्ने क्रममा विना बिल भरपाई भारी मात्रामा सामान ओसारपसार गरेको पाइए पछि प्रारम्भिक अनुसन्धान गर्दा भारतबाट अवैध रुपमा ल्याईएको पाइएपछि बरामद गरेको हो । बरामद सामानहरुमा १५ वण्डल ६० हजार थान लिपगार्ड, २ सय ३६ थान पिस कुर्ता सुरुवाल सेट, चुन्नी ६ सय थान, बनारसी साडी ६७ थान जस्को मुल्याङकन पिकअप सहित ५१ लाख बढिको रहेको कार्यालयले जानकारी दिएको छ । बरामद समानसँगै २ वटा पिकअप र चलाकलाई पनि नियन्त्रणमा लिएको कार्यालयले जानकारी दिएको छ ।
बरामद सामान सहित चालक रुपन्देही सैनामना नगरपालिका २ का ४० वर्षिय तुलसी थारु र सोही स्थान बस्ने ४० वर्षिय मिन प्रसाद भण्डारीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ । अवैध सामान कपिलवस्तु तर्फबाट आएको भन्ने आकलन गरिएको छ । कार्यालयले पर्व लक्षित विशेष सुरक्षा योजना लागु गर्दै सक्रियता बढाएको छ । जिल्लामा एक महिना अवधिमा २० लाख बढिको पटाका नियन्त्रणमा लिई नष्ट गरेको छ ।
गत आर्थिक बर्षमा कार्यालयले १० करोड बढीको अवैध सामाग्री बरामद गरे पनि यस आवको ३ महिनाको अवधिमा मात्रै ४ करोड बढिको अवैध सामान बरामद भई सकेको छ । ठूला मात्रामा तस्करीका सामान बरामद भएपनि चालक र भरियालाई मात्र प्रहरीले बरामद पक्राउ गर्ने गरेको छ ।
तस्करीमा संलग्न व्यक्तिहरुबाट नै प्रहरीले सुक्ष्म अनुसन्धान गरी मुख्य नाइके तस्करहरुलाई पहिचान गरी कारवाही गरे जिल्लामा तस्करी नियन्त्रण हुने छ ।