यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजा गरिँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।
गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिइ दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको विज्ञले बताउँदै आएका छन् ।
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्यु पछि गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।
आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । यसैगरी वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाउने गरिन्छ ।
नेपाल संवत् ११४२, म्ह: पूजा
हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
यस संवतलाई अहिले नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ ९इ सं ८८०० मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराउनुभएको थियो ।
नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।
लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो, उहाँले भन्नुभयो ।
२००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा विशेषरुपमा मनाउने गरिन्छ ।
गरिब नागरिकको ऋण मोचन गराइ सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षको दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।
२०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परा समेत काठमाण्डौमा अझै छ ।
यसैबीच, आजैको दिन नेवार समुदायमा म्हः ९आत्म० पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो आत्म ९म्हः० पूजा पर्व मनाउने गर्दछन् ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्म सन्तुष्ट बनाइ खुसी राख्न सके देवी देवता पनि प्रसन्न भएर आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।