Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

दाजुभाइको पूजा गरी भाइटीका मनाइदै, उत्तम साइत बिहान ११ :०२ मिनेटमा


  • लुम्बिनी चिन्तन
  • कार्तिक २०, २०७८ शनिवार
  • 662
    SHARES

दाजुभाइको पूजा गरी भाइटीका मनाइदै, उत्तम साइत बिहान ११ :०२ मिनेटमा

तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ ।आज शनिबार तिहारको अन्तिम दिन हाे । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजारभाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ ।

यमपञ्चकको पाचौँ दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्च रङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । सत्ययुगमा यमपञ्चकका पाँच दिन यमराजले बहिनी यमुनाको घरमा बसी बहिनीको हातबाट टीका तथा उपहार लिएको र आशिर्वाद दिएको कथन छ ।  त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको जनविश्वास रहिआएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको अनुसार यसवर्षको भाइटीकाको साइत बिहान ११ बजेर २ मिनेटमा छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । आजको दिनलाई यम द्वितीया पनि भनिन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनिएपछि शास्त्रीय मान्यता भने रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका पूर्व अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार कपडा र दक्षिणा दिई सम्मान गर्ने परम्परा छ । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् । तिहारको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शिर्ष नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ ।

पूजा गर्ने विधि

सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेकिन्छ । 

त्यसपछि पानी र तेलले पालैपालो दाजुभाइलाई सातपटक घेरी परिक्रमा गरिन्छ । त्यसपछि फूल, अक्षता आदिले दाजुभाइको पूजा गरी शिरमा तेल लगाइन्छ ।

तेल लगाएपछि सप्तरङ्गी निधारमा लगाइन्छ । निधारमा सेतो रङको लामो धर्को तानेर त्यसमाथि अरु छ रंङका टीका लगाइन्छ । सप्तरङ्गीमा इन्द्रधनुषका सात रङ्गहरू प्रयोग गरिन्छ । एकभन्दा बढी दाजुभाइ हुनेहरूले भाइटीकाको दिन सबैभन्दा कान्छोदेखि टीका लगाउन सुरु गर्ने प्रचलन छ । तर, यो कुनै शास्त्र उल्लेखीत नियम भने होइन । 

दिदीबहिनीले टीका लगाइदिएपछि कहिल्यै नओइलाउने मखमली फूलको मालालाई फूलझैँ सधैँ ऊर्जावान हुने कामनाका साथ लगाइन्छ । तत्पश्चात दाजुभाइलाई उपहार तथा सेलरोटी र अन्य मिठा परिकार थालमा सजाएर दिने चलन छ । सँगै दाजुभाइले पनि उपहार तथा दक्षिणा दिँदै दिदीबहिनीको पाउमा ढोगीदिन्छन् । नेपालीहरूले दिदीबहिनीको पाउमा ढोगे पनि भारत तथा अन्य मुलुकमा भने जो उमेरमा ठूलो छ उसलाई मात्र ढोग्ने प्रचलन रहेको छ ।  

आजको दिन दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले काठमाडौंको रानी पोखरीमा रहेको मन्दिरमा पूजाआजा गर्छन् । यो मन्दिर आज एकदिनका लागि मात्र खुल्ने गर्दछ । 


लुम्बिनी चिन्तन

थप समाचार