भैरहवा । हिन्दुहरुको दोस्रो महान पर्व तिहार भाइटिकासँगै सकिएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यो पर्वको मुख्य दिन दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर तिहार समाप्त भएको छ ।
तिहारको समापन सँगै मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । तराई–मधेसका प्रमुख बजारमा छठको चहलपहल बढेको छ ।
लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ ।
खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ ।
अहिले छठपर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ ।
जलाश्य र तलाउ लगायतका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ । छठ पूजामा व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ ।
विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउँछन् । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।