भैरहवा । तिहारको समापन सँगै भैरहवामा छठपर्वको रौनक छ । सुर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले २ ठाँउमा विधिवत रुपमा मनाउदै आएका छन । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिइ मनाइने छठ पर्वका लागि भैरहवाको सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री काली भक्ति गण नेपाली सेनाको ब्यारेकभित्र र सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा रहेको पोखरीमा छठपूजाको तयारी पुरा भएको छ । ५० बर्ष पहिलै देखि काली भक्ती गणमा र उद्योगपुरी हनुमानमन्दिरमा स्थित पोखरीमा ५ वर्ष अघि देखि छठको पूजा गरिदै आएको छ ।
कार्तिक शुक्ल पक्षको चौथी तिथि आजको दिनबाट छठपर्व विधिवतरूपमा सुरु हुन्छ । पूजाका लागि छठ स्थलमा सरसफाई तथा सजावटका काम भइरहेका छन, वेदी बनाउने र ठाँउ सुरक्षित गर्न परिवारले पहिलै नै व्यवस्थापन गरिरहेका छठ पूजा समारोह व्यवस्थापन समितिका संयोजक आनन्द प्रसाद गुप्ताले बताए । भक्तजनको चापलाई मध्यनजर गर्दै अर्को वर्षबाट हामीले २ वटा पोखरी थप गर्ने छौ गुप्ताले भने ।
पूजा गर्नका लागि भक्तजनहरुले सयौ संख्यामा वेदी बनाएको श्रीराम जानकी हनुमान मन्दिर व्यवस्थापन समितिका छठ पूजा समिति संयोजक नरेन्द्र रौनियारले बताए । पोखरीमा ताजा पानी राखिएको छ , छठ पूजाको तयारी अन्तिम चरणमा छ, साझ ५ वजेदेखि राती १२ बजे सम्म प्रवचन लगायतको कार्यक्रम रहेको उनले बताए ।
सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ । छठी माईका नाममा ब्रत र सूर्यको आराधना गरी तराईमा मनाइने छठ पर्व रुपन्देही जिल्लाभरका साथै मुख्यतया भैरहवा, धकधई, बेथरी, मर्चवार , बुटवल, गैडहवा र आसपासका क्षेत्रहरुका जलाशयमा धुमधामका साथ मनाउने गर्छन ।
मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्व भैरहवा क्षेत्रका वासिन्दाले पनि मनाउने क्रम बढ्दो छ । दिनानुदिन छठमाई प्रतिको आस्था बढदै गएकाले अहिले हिन्दुमात्र नभई केही अन्य धर्मावलम्बीहरुले पनि मनाउन थालेका छन । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । यो पर्वको अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीले शुभकामना दिएकी छिन त्यस्तै सरकारले पनि सार्वजनिक विदा दिएको छ ।
के गरिन्छ छठमा
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म ४ दिनसम्म विभिन्न विधि गर्दै मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ सोमबार देखि सुरु भएको छ । पहिलो दिन सोमबार व्रतालुहरु नुहाई धुवाई गरि चोखो भई आफै तयार गरेको स्वच्छ सफा सात्विक भोजन(खाना) गरेर वर्त बसिन्छ, जसलार्ई अरबाइन वा अरबा पनि भनिन्छ ।
त्यसतै ’खरना’ भनिने दोस्रो दिन दिनभर व्रतालुहरु उपवास निराहार बसेर साँझको समयमा छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरिन्छ र राति अरवा अरबाइन (नुन नहालेको) खानेकुरा रोटी, खीर, नैवेद आदि शान्तमय वातावरणमा भोजन गरी आफ्ना साखासन्तानलाई ’खरना’को प्रसाद वितरण गर्ने चलन छ ।
छठ पर्वको तेस्रो तथा मुख्य दिन बुधबार षष्ठी तिथिमा सफा बस्त्र लगाई गहुँ÷चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मूला, गाजर, बेसारको गाँहो, अदुवा,भोगटे, उखु, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्गलो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, र मिठाइ सहितका प्रसादहरुलाई बाँसले बनाइएको ढक्की नाङ्लो आदिमा राखेर जलाशयको छेउमा गएर व्रतालुहरु पानीमा बसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गरिन्छ ।
सप्तमी तिथि अर्थात चौथौ र अन्तिम दिन बिहीबार बिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातःकालीन उदाउँदो सूर्य र षष्टी मातालाई दोस्रोअर्घ दिई छठ सम्पन्न गरिन्छ ।