Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आजदेखि देशभर जनगणना, रुपन्देहीमा १ हजार एक सय २१ गणक


  • लुम्बिनी चिन्तन
  • कार्तिक २५, २०७८ बिहिवार
  • 386
    SHARES

आजदेखि देशभर जनगणना,  रुपन्देहीमा १ हजार एक सय २१ गणक

राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो ।

रुपन्देहीमा लुम्बिनी प्रदेश जनगणना कार्यालय र जिल्ला जनगणना कार्यालय रुपन्देहीबाट गरि १ हजार एक सय २१ जना गणक जनगणनाका निम्ति हरेक घरदैलोमा पुग्नेछन्।

लुम्बिनी प्रदेश जनगणना कार्यालय रुपन्देही ‘क’ ले जिल्लाका ७ स्थानीय तहको गणनाको लागि ५२० जना गणक खटाएको जनजणना अधिकारी कृष्णराज पाण्डेले बताए । उनका अनुसार लुम्बिनी प्रदेश जनगणना कार्यालय, रुपन्देहीले बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, मायादेवी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, शुद्धोधन गाउँपालिकाको गणना संकलन गर्नेछन ।

जनगणना अधिकारी पाण्डेले गणकहरुलाई ४ दिने तालिम प्रदान गरि आ–आफ्नो कार्यक्रममा खटाईएको बताए । उनले भने, ‘गणकलाई तालिम र सम्पूर्ण सामग्री दिएर आ–आफ्नो कार्यक्षेत्रमा पठाएका छौँ ।’ लुम्बिनी प्रदेश जनगणना कार्यालय रुपन्देही ‘क’ले जनगणनाको पहिलो चरणअन्तर्गत ३० भदौदेखि १८ असोजसम्म घर सूचीकरण गरेको थियो । घर सूचीकरण गर्न १३० जना सुपरिवेक्षक खटिएका थिए।

उक्त ‘क’ कार्यालय अन्तर्गत बुटवल उपमहानगरपालिकमा २ वटा, सैनामैना नगरपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकामा १/१ वटा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको उनले बताए ।

यस्तै जिल्ला जनगणना कार्यालय रुपन्देही ‘ख’ ले जिल्लाका अन्य ९ स्थानीय तहको गणनाको लागि ६०१ जना गणक खटाएको जनगणना अधिकारी अवधेश कुमार शुक्लाले बताए । जनगणना कार्यालय रुपन्देही ‘ख’ अन्तर्गतका गणकहरुले सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिका, कोटहीमाई गाउँपालिका र मर्चवारी गाउँपालिका गरी ९ स्थानीय तहमा गणना गर्नेछन् ।

उनका अनुसार सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका र सम्मरीमाई गाउँपालिकामा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको छ । जनगणना अधिकारी शुक्लाले गणकहरुलाई तालिम प्रदान गरि आवश्यक साम्रगीहरु सहित आ–आफ्नो कार्यक्रममा खटाइएको बताए । गणकमार्फत् प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण सङ्कलन गरिनेछ ।

दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन गरिने छ । सोही क्रममा घरपालुवा पशुपक्षीको विवरण पनि सङ्कलन हुनेछ ।

आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिँदैछ । आजदेखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिन तथ्याङ्क विभागले आग्रह गरेको छ । जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने तर विवरण नदिनेमाथि कानुनी कारबाही हुने तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो ।

यसअघि गएको भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गरिएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सकेसम्म भौतिक रुपमा र नभए स्याटेलाइटका माध्यमबाट अनुमानित जनसङ्ख्या निकाल्ने महानिर्देशक श्रेष्ठले बताउनुभएको छ ।

जनगणनाका लागि सरकारले ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । जनगणनाको प्रारम्भिक नतिजा आउन झण्डै तीन महिना लाग्ने अनुमान छ । नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो।


लुम्बिनी चिन्तन

थप समाचार