भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सोमाबारको खेल बुद्ध क्रिकेट क्लबले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन ए अन्तर्गतको खेलमा बुटवल–११ लाई ७ रनले पराजित गर्दै बुद्धले खेल जितेको हो । जितसँगै बुद्ध सेमिफाइनलमा प्रवेश गरेको छ ।
टस जितेर सुरुवाती व्याटिङ रोजेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै १९९ रन बनाएको थियो । जसका लागि रिजन प्रजुले ३५, मिथिलेश यादवले २९, अमित अग्रहरीले २४ र निखिल यादवले १५ रन बनाए । बलिङ तर्फ बुटवल ११ का सुधन श्रेष्ठ र प्रकाश केसीले ३–३, इशान पाण्डेले २ तथा एजाज आलम र तौसिफ आलमले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा २०० रनको लक्ष्य पाएको बुटवल ११ले ४४ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै लक्ष्यमा पुग्न सकेन । ७ रन बनाएर हार व्योहेरेको बुटवल ११ डिभिजन बी मा घटुवा भएको छ । बुटवल ११ का सोनु तामाङले ४८, हिमाल पुनले ४३, इशान पाण्डेले २५ र तौसिफ आलमले २१ रन बनाए । बलिङ तर्फ बुद्धका अमित अग्रहरीले ३, रुपेश कुर्मी र अजय त्रिपाठीले २÷२ तथा विपिन खत्री र रिजन प्रजुले समान १÷१ विकेट लिए ।
सोमाबरको खेलमा अमित अग्रहरी म्यान अफ द म्याचबाट पुरस्कृत भए । फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र डिभिजन बी बाट ए मा आएका ४ टिम गरी १२ टीम बीच प्रतिस्पर्धा भइरहेको छ । मंगलबार डिभिजन ‘ए’ का एक्सपर्ट जीआर क्रिकेट क्लब र देवदह क्रिकेट युनिट बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाए ।
प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।