सम्झना शर्मा
भैरहवा, २१ पुस
रूपन्देहीको ओमसतिया गाउंपालिकास्थित खुन्सामा दोस्रो माघी खिचडी महोत्सव हुने भएको छ । थारु भाषा, कला–संस्कृति, खानाको संरक्षण तथा प्रवद्धनका साथै जिर्ण अवस्थामा रहेको थारु डिउहार मन्दिरको पुर्ननिर्माण गर्ने उद्देश्य राखेर मेला आयोजना गरिन लागेको आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन् ।
थारु डिउहार मन्दिर संरक्षण समितिको आयोजनामा तीन दिवसीय महोत्सव हुन लागेको हो । आयोजकका अनुसार पुस २५, २६ र २७ गते गरी तीन दिनसम्म चल्ने महोत्सवमा थारु खानाका परिकार र सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष हिरामान थारुले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा थारु परिकार ढिकरी, घोंगी, माछा, चिचिया लगायतको प्रदर्शनी हुनेछ । यस्तै, स्थानीय अन्य परिकार पनि महोत्सवमा पाहुनाले स्वाद लिन पाउने आयोजकले जनाएका छन् ।
महोत्सवमा थारु संस्कृति झल्किने विभिन्न नृत्य तथा थारु समुदायका राष्ट्रिय एवं स्थानीय कलाकारको प्रस्तुती रहने छ । महोत्सवमा राष्ट्रिय कलाकार अन्नु चौधरी, अञ्जु कस्मी (फूलकुमारी), ममता चौधरी, दिपेन चौधरी, सरगम , मिलन तथा स्थानीय कलाकारहरु उमा चौधरी, डिटी गु्रपलगायतको प्रस्तुती रहनेछ । यस्तै, थारु सांस्कृतिक नाच, डिस्टार बोईज डान्स लगायत पनि हुनेछ ।
महोत्सवबाट संकलित रकमले थारुहरुको आस्थाको केन्द्र रहेको डिउहार मन्दिर निर्माण गरिने आयोजकले जनाएका छन् । उक्त मन्दिर अहिले निर्माणको क्रममा छ । महोत्सवमा पहिलो दिन निःशुल्क महोत्सव अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । यस्तै, दोस्रो र अन्तिम दिन एक रुपैयां टिकट दर तोकिएको थारु युवा सन्तु दंगोरिया थारुले बताए ।
ओमसतियाको खुन्सामा रहेका थारु समुदायको महोत्सवमा विषेश सक्रियता रहनेछ । जसले गर्दा यहां थारु कलासंस्कृतिका गतिविधि थोरैमात्रामा हुने गरेका छन् । ‘यहाँ हाम्रो समुदायको बसोबास थोरै भए पनि पछिल्लो पुस्ताले कलासंस्कृति, भाषा, भेषभुसा नविर्सिन् भनेर महोत्सव आयोजना गरिएको हो’, अध्यक्ष थारुले भने ।
यस्ता कार्यक्रमले थारु संस्कृति संरक्षण गर्दै यसलाई जीवन्त राख्न मद्दत पुग्ने आयोजकको विश्वास छ । यसअघि आयोजना गरिएको महोत्सव र दाताहरुबाट रकम संकलन गरी यहांका थारु समुदायले मन्दिर निर्माण गरिरहेका छन् । मन्दिर निर्माणका लागि ओमसतिया गाउंपालिकाले पनि ४ लाख रुपैयाँ सहयोग गरेको उपाध्यक्ष मोहन चौधरीले जानकारी दिए । कार्यक्रममा समितिका सचिव सन्तोषी चौधरी, कोषाध्यक्ष लक्ष्मी थारु लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।