भैरहवा पौष ३,
लुम्बिनी गुरुयोजना भित्र होटल संचालन गर्न नदिन लुम्बिनीका पर्यटन व्यवसायीहरुले माग गरेका छन् ।
लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीको नेतृत्वमा गएको टोलीले कोषमा ज्ञापनपत्र बुझाउंदै गुरुयोजना भित्र होटल संचालन गर्न दिने पर्यटन मन्त्री आलेको निर्णयलाई खारेज गर्नु पर्ने माग गरेको छ ।
लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीको नेतृत्वमा गएको टोलीले सोमबार लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना विपरित होटल संचालनका लागि अनुमति दिन लागेको विषयमा व्यवसायीहरुको ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका छन् ।
लुम्बिनी होटल संघ नेपालको अगुवाईमा सोमबार कोषलाई ज्ञापनपत्र बुझाउंदै लुम्बिनी गुरुयोजना भन्दा बाहिर गएर लुम्बिनी भित्र कुनै पनि निर्णय नगर्न उनीहरुले ज्ञापन पत्र मार्फत माग गरेका छन् ।
नेपाल सरकारका पर्यटन मन्त्री प्रेम बहादुर आलेको निर्देशनमा लुम्बिनीको मेडिटेशन हलछेउमै रिसोर्ट संचालनका लागि अनुमति दिने अन्तिम तयारी भएको भन्ने खवरप्रति आफुहरुको ध्यानाकर्षण भएको भन्दै कोषनै गैर निर्णय गरेर लुम्बिनी परपर अबौं लगानी गरी खोलिएका होटलहरुको लगानी डुबाउने खेलमा लागेको उनीहरुले आरोप लगाएका छन् ।
संघका अध्यक्ष गोविन्द ज्ञवालीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ “ बहुदलिय प्रजातन्त्र हुदै देश गणतन्त्र र संघीयतामा गएपनि लुम्बिनी विकास कोषको निर्णय प्रक्रियामा स्थानीय सरोकारवालाहरुलाई सहभागी बनाउनु त कहां हो कहां ठुला र दुरगामी सार्वजनिक सुनुवाई गर्ने परिपाटी समेत छैन । ” यस्तै ज्ञापन मार्फत पर्यटन व्यवसायीहरुले पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा सेटिङ्ग मिलाएर एक कम्पनीलाई रिसोर्ट खोल्न लागिएको भन्ने विषयमा कोषले स्पष्ट जवाफ दिनुपर्ने माग समेत गरेका छन् ।
संघका अध्यक्ष गोविन्द ज्ञवाली, उपाध्यक्ष शेखर कार्की, वरिष्ठ सल्लाहकार हेम बहादुर विष्ट, सल्लाहकार शंकर मल्लाह, सदस्य प्रविनराज शाक्य लगायतको टोलीले कोष मार्फत प्रधानमन्त्री, नागरिक उड्यन तथा पर्यटन मन्त्री तथा मन्त्री सम्बद्ध पार्टीको समेत ध्यानाकर्षण गराएको हो ।
संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेको अध्यक्षतामा मंसिर ११ गते बसेको बोर्ड बैठकले लुम्बिनी गुरु योजना भित्रको जग्गा संसार वेलनेसलाई स्तरीय रिर्सोट सन्चालन गर्न दिने निर्णय भएको कोषका सदस्य सचि शानु राजा साक्यले नै बताएका थिए ।
आलेले मन्त्रालयबाटै प्रस्ताव लगेर ब्यवसायी सूरज बैद्यको संसारा वेलनेस नामक कम्पनीलाई लुम्बिनी गुरुयोजना भित्र मेडिटेसनका लागी आउने पाहुनाहरुका लागी स्तरिय आवासिय भवन बनाउन दिने निर्णय गराएको खुलेको हो । सांसार वेलनेस उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष सुरज बैद्यको कम्पनी हो । उनि लुम्विनी बिकास कोषका पुर्व उपाध्यक्ष हुन ।
बैद्यले तत्कालिन संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री भानुभक्त ढकालका समयमा लुम्बिनीमा रिसोर्ट संचालन गर्ने प्रस्ताव पेश गरेका थिए । संसारा वेलनेसले पेश गरेको फाईल पर्यटन मन्त्री आलेले मंसिर ११ गते कोषको बोड बैठक बाट निर्णय गराएर दिएको श्रोतले बताएको छ ।
जापनिज वास्तुविद् प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी गुरुयोजना भित्रको चारविगाह क्षेत्रमा फैलिएको क्याम्पियन ग्राउण्डमा केही कोठा, खुल्ला स्थान, शौचालय, क्याम्प फायर र पिकनिक स्पट राख्ने उल्लेख छ । बैद्यको कम्पनी संसारा वेलनेसले पेश गरेको प्रस्तावमा मेडिटेसन संचालन गर्ने र मेडिटेसनको लागि आउने पाहुनाहरुको आवासको लागि रिसोर्ट संचालन गर्ने उल्लेख छ ।
कोष भित्र हाल होक्के होटल, होटल कासाइ र श्रीलङ्काको पिलग्रिमेज हाउस संचालनमा छन् ।