भैरहवा माघ ८,
कवि नारायण प्रसाद भण्डारीको कविता सङ्ग्रह पलाँस बिमोचन भएको छ । सिर्जनशील साहित्यिक समाज(सिसास)को आयोजनामा कविता बिमोचन कार्यक्रमका प्रमुख अतिथिकोरुपमा बोल्दै वरिष्ठ साहित्यकार बालकृष्ण भट्टराईले कवि भण्डारीको चिन्तनको मौलिकता पलाँसमा भएको बताउनु भयो ।
कवि युगको प्रतिनिधि हुन्छ, कवि भण्डारीका यी कविताले पनि युगको प्रतिनिधित्व गरेका छन्, साहित्यकार भट्राईले भने, सामन्ती शोषण विरुद्धका आवाज, जीवनको मुल्य, प्राकृतिक विम्बको प्रयोग आदि पलाँसका विशेषता हुन् ।
प्राज्ञ बूँद रानाले कवि भण्डारीमा कवित्व शक्ति प्रचुर मात्रामा भएका कारण कृतिकोरुपमा पलाँस सार्वजनिक भएको बताउनु भयो ।
सिर्जनशील साहित्यिक समाज(सिसास)का अध्यक्ष शशि पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरु विजय सागर, वनमाली निराकार, भरतकुमार पोखरेल,सिद्धार्थ उद्योग वाणिज्यसंघका महासचिव विजय पाण्डे, पलाँसका कृतिकार स्रष्टा नारायणप्रसाद भण्डारी, सिसासका पूर्व अध्यक्ष छवि ज्ञवाली, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य मेघदेव पन्त लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लिराज भट्टराईले कविता सङ्ग्रह पलाँसको समीक्षा गर्नु भएको थियो । सिसासका उपाध्यक्ष कमल पोख्रेलको स्वागत मन्तब्य र सिसासका पूर्व अध्यक्ष तेजप्रसाद पन्थको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।