भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको शुक्रबारको खेल तिरुपति क्रिकेट क्लबलले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन ए अन्तर्गतको खेलमा तिलोत्तमा क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै तिरुपतिले खेल जितेको हो ।
टस हारेर सुरुवाती व्याटिङ पाएको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा २९ दशमलव ५ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमै समेटियो । जसका लागि मनोज सुनारले १८, अनिल खत्रीले नटआउट १५ र विकल क्षेत्रीले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा तिरुपतिका विपिन न्यौपानेले ४ वसिर अहम्मदले ३ तथा तुलबहादुर थापा र प्रदीप जैसवालले समान १÷१ विकेट लिए ।
जवाफी ब्याटिङमा ८८ रनको लक्ष्य पाएको तिरुपतिले १७ दशमलव ५ ओभरमा लक्ष्य पार गर्न सक्यो । जसका लागि तुलबहादुर थापाले नटआउट ४० र विवेक न्यौपानेले ११ रन बनाए । बलिङ तर्फ तिलोत्तमाका विष्णु कटरिया र कृष्ण पराजुलीले समान ३÷३ तथा यमबहादुर क्षेत्रीले २ विकेट लिए । शुक्रबारको तिरुपतिका विपिन न्यौपाने म्यान अफ दम्याचबाट पुरस्कृत भए । न्यौपानेले खेलमा ८ ओभरमा ३७ रन खर्चेर ४ विकेट लिएका थिए जितका लागि ७ रनको योग्दान गरेका थिए ।

फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र डिभिजन बी बाट ए मा आएका ४ टिम गरी १२ टीम बीच प्रतिस्पर्धा भइरहेको छ । शनिबार डिभिजन ‘ए’ अन्तर्गतकै लुम्बिनी खुकुरी क्रिकेट क्लब र सैनामैना क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाए ।
प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।