Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि व्यवसायीक उडान, आकस्मिक अवतरण गर्न सकिने


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १७, २०७८ मंगलवार
  • 682
    SHARES

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि व्यवसायीक उडान, आकस्मिक अवतरण गर्न सकिने

 

भैरहवा फागुन १७

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यवसायीक उडान सञ्चालन हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै बुद्ध जयन्तीका दिनदेखि व्यवसायीक उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको हो । एरो थाईको क्यालिब्रेसन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ गतेबाट परीक्षण उडान गर्ने तयारी तीव्र बनाएको छ । वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने पनि प्राधिकरणले जनाएको छ । विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले बताए ।

आपत्कालीन अवस्थामा विमानस्थल प्रयोग गर्न सकिने

महानिर्देशक अधिकारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै आकासमै होल्ड बस्नुपर्ने समस्या समाधान हुने बताए । हवाई मार्गमा आपत्कालीन अवस्था आउँदा बन्दोबस्तीका सामग्रीसहितको विमानस्थल पछ्याउँदै काठमाडौं आइरहन पर्ने बाध्यताको अन्त्य हुने पनि उनले दाबी गरे । नेपालमा आकस्मिक अवतरणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार व्यवस्थासहितको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किनुको विकल्प छैन । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या आउँदा जहाजहरू भारतको लखनउ डाइभर्ट हुनु पर्ने अवस्थाको अन्त्य हुने महानिर्देशक अधिकारीले जानकारी दिए ।

गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार विमानस्थलमा उड्ने अधिकतम ठूलो जहाजको क्षमता अनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्ड बनेको अधिकारीको भनाइ छ । विमानस्थलमा ल्यान्डिङ गियर नखुल्ने, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने, इन्धन ट्याङ्कमा आएका समस्या, विमानको पंखामा आएका समस्या, आगोजन्य समस्या र प्रतिकुल मौसममा समेत सुरक्षित अवतरण गर्नसक्ने उनले बताए ।  


लुम्बिनी चिन्तन

थप समाचार