भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सोमबारको सेमिफाइनल खेल होराइजन क्रिकेट क्लबले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन ए अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा बुद्ध क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै होराइजनले फाइनलको यात्रा तय गरेको हो ।
टस हारेर सुरुवाती व्याटिङ पाएको बुद्धले निर्धारित ४४ ओभरमध्ये ४१.५ ओभरमा सबै विकेट गुमाउँदै १६१ रनको योगफल बनायो । उसका लागि अजय त्रिपाठीले ४४, रिजन प्रजुले ३९, निखिलेश यादवले १६ र कमलेश यादवले नटआउट ११ रन बनाए । बलिङमा न्यू होराइजनका लागि शक्तिप्रसाद गौचनले ८.५ ओभरमा ४ मेर्डन राख्दै ११ रन खर्चेर ४ विकेट लिए । उनी म्यान अफ द म्याच भए । यस्तै, पुरुषोत्तम भट्टराई र राहुल प्रजापतीले समान २÷२ तथा सुमित पराजुलीले १ विकेट लिए ।
जवाफी व्याटिङ गरेको न्यू होराइजनले ४२ ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाउँदै जित निकाल्यो । उसका लागि शक्तिप्रसाद गौचनले नटआउट ४२, मनिष थापाले २७ र सुमित पराजुलीले नटआउट २४ रन बनाए । बलिङमा बुद्धका रुपेश कुर्मीले ४, रिजन प्रजूले ३ र अमित अग्रहरीले १ विकेट लिए ।
बिहीबार दोस्रो सेमिफाइनलमा वेष्टर्न क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए । यी दुईबीचको विजयी टिमले उपाधिका लागि २९ गते न्यू होराइजनसँग प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।