भैरहवा । आज महाशिवरात्री पर्व, आराध्यदेव भगवान् शिवको पूजा आराधना गरी भैरहवा सहित देशभर हिन्दु धर्मालम्बीले मनाइरहेका छन । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि हिन्दुहरूको एक प्रमुख चाड मध्ये एक हो । आज भैरहवाको बसडिलवा स्थित शिव मन्दिरमा पनि विहानै देखि भक्तजनहरुको घुइचो लागेको छ । शिवजी उत्पत्ति भएका रातको नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।
भैैरहवाको पुरानो मन्दिर मध्ये यो शिव मन्दिर २०३६ सालमा जिर्णोद्वार भएको रुपन्देहीकै ऐतिहासीक मन्दिर हो । हरेक शिवरात्रीको दिन यहा भव्य मेला लाग्दछ । पुजापाठ गर्नको लागी राती देखि नै भक्तजनहरु लाइनमा बसेका छन । मन्दिर देखि ५०० मिटर पर सम्म लामबद्ध भक्तजनहरुको उपस्थिती छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज भैरहवा आसपास लगायत भारतका भक्तजनहरुको उपस्थिती छ । सुरक्षाका हिसावले पनि महिला जनपद प्रहरी र स्थानीय स्वयंसेवकको सहयोगमा भक्तजनहरुलाई सहज तरीकाले मन्दीर प्रवेश र पुजाको व्यवस्था गरिएको छ । विहानै देखि लामबद्ध भएर भक्तजनहरु बसेपनि अाधा घण्टामा पुजापाठ र दर्शनको व्यवस्था गरिएको शिव मन्दिर व्यवस्थापन समिति अध्यक्ष शंकर ज्ञवालीले जानकारी दिएका छन ।






