भैरहवा, ६ भदौँ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा अपांगता परिचय पत्र वितरण गरिएको छ । स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चार प्रकार क, ख, ग, घ मा वर्गीकरण गरी नगरमा रहेका शारीरिक अशक्त व्यक्तिहरुलाई अपांगता परिचय पत्र वितरण गरिएको नगर उपप्रमुख एंव अपांगता परिचय पत्र वितरण समन्वय समितीको संयोजक उमा अधिकारीले बताईन् ।
'शारीरिक रुपमा अशक्त भएपनि राज्य वा अन्य कुनै निकायबाट सेवा सुविधा प्राप्तीका लागि उनीहरुसगँ कुनै आधार थिएन' संयोजक अधिकारीले भनिन्, वितरण गरिएको परिचय पत्रले उनीहरुलाई सहज हुने विश्वास लिएका छौँ । अपांगता परिचय पत्रका लागि उनीहरुले अपांगता परिचय पत्र वितरण समन्वय समितीमा निवेदन दिएपश्चात चिकित्सक समेत रहेको समितीले अपांगताको किसिम एकिन गरी परिचय पत्रका लागि सिफारिस गर्ने गरेको छ ।
सिफारिस पश्चात् फोटो सहितको परिचय पत्र नगरपालिकाको कार्यालयले वितरण गर्ने गरेको उनले बताईन । अशक्त व्यक्तिका अभिभावकहरुलाई भीम अस्पतालका डा. आरिफ हुसेनले आवश्यक सुझाव, सल्लाह समेत दिएका थिए । समितीका सदस्य सचिव विवेक कुमार खनालका अनुसार अपांगता परिचय पत्रका लागि समितीमा ३८ वटा निवेदन परेको छ । निवेदन पश्चात व्यक्तिको स्वास्थ्य र चिकित्सक रिपोर्टहरुको अध्ययन गरेर वर्गीकरण गरी परिचय पत्र वितरण गर्ने गरिएको उनले बताए ।