भैरहवा । विश्व उपभोक्ता अधिकार दिवस भैरहवामा अन्तरक्रिया तथा गोष्ठी गरी मनाइएको छ । ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना र उद्योग कार्यालय रुपन्देहीको सहआयोजनामा भैरहवामा एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो ।
नेपालमा उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद वा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको भए पनि उपभोक्ता ती अधिकार प्रयोग गर्नबाट वञ्चित भएको कार्यक्रममा सहभागीहरुले औल्याएका छन । उपभोक्ताको अधिकार सम्बन्धि कानुन कार्यान्वयनमा उनीहरुले जोड दिए । दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान जोखेर किनबेच हुने भए पनि त्यसको तौल लिन प्रयोग हुने अधिकांश ढक–तराजु पनि अवैधरूपमा प्रयोग भइरहेको , सम्बन्धित निकायको निष्क्रियताले बजारमा नवीकरण नभएको र उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता भने सधै मारमा पर्ने गरेकोे गुनासो गरे ।

कार्यक्रममा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक यम बहादुर कुंवर, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्लाअधिकारी कृष्ण प्रसाद खडका, उपभोक्ता हित संरक्षण मंच लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार दिपक घिमिरे, चेतन पन्त, विन्दु चौहान, पशुपति यादव, राधेश्याम विक, इन्सेकका प्रतिनिधी रिमा विसी, सामाजिक अभियान्ता प्रख्यात बन्जाडे, शिक्षक मोतिलाल सुवेदी , निर्माण व्यवसायी मञ्जु भुसाल लगायतले बोल्दै स्थानीय सरकार आए पछि अनुगमन न्युन भएको, स्थानीय सरकारको जवाफदेहिता बढेकोले जरिवाना गर्न स्थानीय सरकारले पहल गर्नु पर्ने, उपभोक्ता आफै पनि सचेत हुनु पर्ने, शहर केन्द्रित कार्यक्रमलाई ग्रामिण क्षेत्रमा लैजानु पर्ने बताए ।
उठेको जिज्ञासालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी र प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले कानुनको अभाव नभएपनि भएका कानुन कार्यान्वयनमा फितलोपन रहेको बताए । “कानुन लादेर मात्रै समस्या हल नहुने भएकोले जनतामा बढि भन्दा बढि सचेतना फैलाउनु पर्ने, स्थानीय तह भन्दा माथी जिल्ला स्तरीय कमिटी बनाई ठाँउको ठाँउ कारवाही गर्नु पर्छ ” संयोजक विश्वकर्माको भनाई छ । बताए । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आइएको छ ।