भैरहवा । भारतमा कोरोना संक्रमणको दर बढ्न थालेसँगै नेपालभारत सिमानाका बेलहियामा सर्तकता अपनाउन लागिएको छ । भारतमा एकेैदिन हजारौँ संख्यामा सङ्क्रमित थपिएसँगै भारतसँग सीमा जोडिएका बेलहिया सहितका नाकामा निगरानी बढाउन सक्रियताका साथ हेल्थ डेस्क स्थापना गर्न लागिएको हो ।
भारतको केही राज्यमा कोरोनाको सङ्क्रमण दर तीव्र गतिमा फैलिरहेको छ, रोजगारीको लागि गएका नेपालीहरु पुनः गाउँघर फर्किन थालेकोले नेपाल सरकारले भारतबाट आउने १४ नाकामा हेल्थ डेस्क सक्रिय बनाएको छ । सङ्क्रमण नेपालमा पनि भित्रिन सक्ने प्रबल सम्भावना रहेकोले वेलहिया नाकामा नै परीक्षण गर्ने तयारी स्वास्थ्य कार्यालय रुपन्देहीले गरेको छ ।

स्वास्थ्य कार्यालयकै पहलमा सिमा क्षेत्रमा २ वटा टेन्ट निर्माण भइरहेको छ, हेल्थ डेस्कका लागि सिद्धार्थनगर नगरपालिकासँगको सहकार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्यमा उक्त हेल्थ डेस्क स्थापना भइरहेको छ । हेल्थ डेस्कका लागि आवश्यक जनशक्ति स्थानीय सरकारले उपलब्ध गराउने र आवश्यक सामाग्री स्वास्थ्य कार्यालयले उपलब्ध गराउने गरी तयारी भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।

भारतबाट नेपाल आउने शंकास्पद विरामीलाई हेल्थ डेस्कमा आरडिटी बेस एन्टीजिन किट बाट परिक्षण गर्ने तयारी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए । भारतमा संक्रमण बढेसँगै सक्रिय रुपमा हेल्थ डेस्कबाट जाच बढाउन लागेका छौ । पोजिटिभ देखिएमा अइशोलेटेडका लागि क्वारेन्टाइनमा राख्ने प्रमुख गिरीले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भारतमा कोरोनाभाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सभा, गोष्ठी, जुलुस, ¥याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न आग्रह गरेको छ । विज्ञप्तिमा सामाजिक÷भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा आग्रह गरिएको छ ।

भारतको कतिपय ठाउमा फेरी लकडाउन भएकोले भारतमा रहेका नेपालीहरु धमाधम घर फर्कन थालेका छन् । भारतले पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा बुधबारदेखि रात्रीकालीन कर्फ्यू जारी गरिसकेको छ । महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात, छत्तीसगढ, उत्तरप्रदेश लगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या बढ्दो छ । नेपाल आउने यात्रुहरुका लागी अहिले कुनै सावधानी अपनाईएको छैन । सीमामा नेपाल तर्फबाट निर्वाध रुपमा किनमेलका लागि आवतजावत भइरहेको छ, स्वास्थ्य चेकजाँचका लागि बनाइएको डेस्कमा प्रहरीले भारतबाट आउने गरेको तथ्याङक मात्र लिने गरेको छ । मानिसको ओहोरदोहोर बढेपछि कोरोना त्रास पुनः बढदै गएको छ । विगतको तुलनामा संक्रमितको संख्या कम भएपनि कोरोनाको उच्च जोखिम रहेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार आइतबारसम्मको तथ्याकंमा भारतमा ३ लाख ९ हजार ८७ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा संक्रमितको संख्या बढ्दै जाँदा नेपाल जोखिममा रहेको छ । जोखिम रोक्न सीमानाकामा अपनाउनुपर्ने प्रभावकारी संयन्त्र र मुलुकभित्रै अपनाउनुपर्ने जनस्वास्थ्य मापदण्डमा लापरवाही भइरहेको छ ।