भैरहवा । रुपन्देहीको प्रशासन प्रमुखहरु एकै पटक सरुवा भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, प्रहरी प्रमुख एसपी प्रवीण पोखरेल र सशस्त्र प्रहरी प्रमुख भरत खानियाको एकै साथ सरुवा भएको हो ।
सुरक्षा व्यवस्थापन गर्न नसकेको भन्दै प्रजिअ सहित द्वय सुरक्षा प्रमुखहरुको सरुवा भएको स्रोतले जनाकारी दिएको छ । स्रोतकाअनुसार फागुन २१ गते सरकारले मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासका क्रममा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको सुरक्षा व्यवस्थापनमा कमजोरी गरेको भन्दै गृहमन्त्रालयले तीनै जनाको सरुवा गरेको हो ।
प्रजिअ घिमिरेको सरुवासँगै रूपन्देहीमा पर्साका प्रजिअ अस्मान तामाङ आउने भएका छन्, घिमिरेलाई पर्सा सरुवा गरिएको छ । रूपन्देहीमा पर्साका प्रजिअ अस्मान तामाङ आउने भएका छन् । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले प्रजिअको सरुवा भएको पुष्टि गरे ।
त्यस्तै प्रहरी प्रमुख पोखरेलको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ भने जिल्लाको सुरक्षा समहाल्न एसपी मनोज केसी रुपन्देही आउने भएका छन् । मोरङ जिल्लाको सुरक्षा प्रमुखको जिम्मेवारी सफलतापूर्वक सम्हालेका केसी हाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत थिए ।त्यसतै सशस्त्र प्रहरी प्रमुख भरत खनियाको ठाँउमा राजेश उप्रेती आउने भएका हुन ।