भैरहवा असार १८ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीले लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रहरीलाई आधारभूत तालिम प्रदान गरेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाका १५ जना नगर प्रहरी जुनियर अधिकृत तथा जवान लाई तालिम प्रदान गरिएको हो ।
तालिम जेठ १६ देखि असार १८ गतेसम्म सञ्चालन भएको सशस्त्र प्रहरी बल, नेपाल नं .२७ गण हे.क्वा.रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरले बताए । तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक सुवर्ण पोखरेल सहित पाँचजनाले प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागीलाई सरकारी सम्पत्ति सुरक्षा, कार्यालय सुरक्षा, विपद् व्यवस्थापन, हुलदंगा नियन्त्रण, विशिष्ट व्यक्ति सुरक्षा, राहत वितरण, प्राथमिक उपचार, अग्नि नियन्त्रण, नगर प्रहरी आचारसंहितालगायत व्यवहारिक ज्ञान प्रदान गरिएको हो ।
मंगलबार तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले नगर प्रहरीको जिम्मेवारी अनुसार कार्यसम्पादन गर्न क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको बताए । नगर प्रहरीको सक्रियताले नगरमा सुरक्षा व्यवस्थापनसँगै राजस्व वृद्वि हुने उनले विश्वास व्यक्त गरे ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले नगर प्रहरीको अवधारणा ल्याएको भन्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाको टीमलाई धन्यवाद दिइन् । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले नगर प्रहरीले आफ्नो जिम्मेवारी बुझेर उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताए ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा.रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरले स्थापनाकाल देखि नै देशमा शान्ति, सुरक्षा, अमन चयन कायम गर्ने कार्यमा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले यो तालिमले नगर प्रहरीको व्यवसायिक र व्यक्तिगत जीवनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । सशस्त्र प्रहरी नायब निरीक्षक तथा तालिमका प्रशिक्षक बाबुराम गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
तालिममा सहभागी नगर प्रहरीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।