भैरहवा, असार २१ । जल तथा मौसम विज्ञान विभागले अझै तीन दिनसम्म मनसुन बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव निकै बढिरहेको छ । आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्लामा मनसुन सक्रिय हुँदा उच्च जोखिममा रहेकोले उक्त जिल्लाहरुलाई संकेत स्वरुप ‘रेड जोन’मा राखेको छ । विभागका अनुसार ‘रेड जोन’मा परेका जिल्लाहरुमा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपारी पूर्व र मुस्ताङ छन् ।
यसैगरी लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पुर्व पनि रेड जोनमा परेको बिभागको तथ्याङकले देखाउछ ।
कर्णाली प्रदेशका जाजरकोट, दैलेख, रुकुम पश्चिम, कालिकोट, जुम्ला र हुम्लालाई पनि जल तथा मौसम विज्ञान विभागले रेड जोनमा राखेको छ ।यसैगरी सुदूरपश्चिमका डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा जिल्ला ‘रेड जोन’मा छन् ।यसैगरी विभागले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३४ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ ।