भैरहवा, असार ३० । नारायणगढ–मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा २८ गते शुक्रबार खसेको दुई बसमा कुल ६५ यात्रु रहेको पुष्टि भएको छ। दुई दिनसम्म प्रहरीले बसको टिकट काउन्टर र आफन्तहरूसँग सोधपुछका आधारमा ६५ यात्रु सवार रहेको निष्कर्ष निकालेको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बसमा चलानीमा उल्लेख गरिएकाभन्दा १५ जना यात्रु बढी रहेको जनाएको छ ।काठमाडौंबाट गौर जाँदै गरेको गणपति यातायातको प्रदेश ०३– ००१ ख २४९५ नम्बरको बसमा टिकट काटेका र चलानमा उल्लेख भएका २७ जना र आफन्त सम्पर्कमा आएर जानकारी गराएको ११ जना गरी ३८ जना थिए। त्यस्तै वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्सको बसमा चलानबमोजिम २३ यात्रु र आफन्तले जानकारी गराएबमोजिम थप चार जना गरी २७ यात्रु रहेको पुष्टि भएको छ ।
यसैगरी, घटनामा कुल ६५ यात्रु परेको देखिएको, ति मध्ये ३ जना पौडिएर बाँच्न सफल भएको र ४ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ३ जनाको सनाखत भएको र अर्को एक जनाको सनाखत हुन बाँकी छ । अझै ५८ जना यात्रुको अवस्था अज्ञात छ । आइतबार आज तेस्रो दिन पनि बस खसेको स्थानबाट झण्डै १ किलोमिटर तलबाट सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गणका तालिमप्राप्त उद्दारकर्मीहरुले बस र यात्रुको खोजी सुरु गरेका छन् । शुक्रबार र शनिबार दिनभर खोजी गरे पनि बसको अवस्था पत्ता लाग्न सकेको छैन ।