भैरहवा, साउन २१ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस), भैरहवामा अत्याधुनिक मोलिकुलर बायोलोजी ल्याव संचालनमा ल्याएको छ । ए ग्रेडको ल्याव संचालन गर्ने तयारीमा रहेको मेडिकल कलेज संग अहिले बि ग्रेडको ल्याव संचालनमा छ । बि ग्रेडको ल्यावलाई स्तर उन्नती गरी ए ग्रेडको ल्याव बनाउने तयारीमा रहेको मेडिकल कलेजले अत्याधुनिक मोलिकुलर बायोलोजी ल्याब संचालनमा ल्याएको कलेजका प्रार्चाय डा. लक्ष्मी पाठकले जानकारी दिईन ।
अत्याधुनिक मोलिकुलर बायोलोजी ल्याब युनिटको आइतबार कलेजका प्राचार्य डा.लक्ष्मी पाठक, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सदन मुखी, अस्पतालकी सेन्ट्रल ल्याब प्रमुख डा.अनिता शाही, कार्यकारी निर्देशक अजय पिएस लगायतले उद्घघाटन गरेका थिए ।
कोभिडको सायमा आएको पीसीआर मेसिन संगै अन्य आबस्यक सामाग्रीहरु खरिद गरी मोलिकुलर बायोलोजी ल्याब तयार गरी परीक्षणको काम सुरु गरिएको हो । पीसीआरमा डीएनए–आरएनए जस्ता भाइरसका जीनको पहिचान हुने हुँदा यो परीक्षणबाट रोग पहिचान सहजै गर्न सकिने अस्पतालले जनाएको छ । मोलिकुलर बायोजोली ल्याबका प्रमुख विनित शर्माले गुणस्तरमा ढुक्क हुन आग्रह गरे ।
मेडिकल कलेजका बायोकेमिष्ट्री विभागीय प्रमुख एवं बीएस्सी–एमएलटी कार्यक्रम कोअर्डिनेटर नारायण गौतम पीसीआर विषयमै डब्लुएचओबाट पीसीआर सम्बन्धी तालिम प्राप्त हुन् । ल्याबका प्रमुख विनित शर्मा पनि यही विषयमा लामो समय कार्यअनुभव बटुलेका छन् । यसैले पनि यहाँको परीक्षणमा गुणस्तरीयता रहेको दावी अस्पतालले गरेको छ ।

अस्पतालकी सेन्ट्रल ल्याब प्रमुख डा.अनिता शाहीले अस्पतालको ल्याबमा स्याम्पल कलेक्सन गर्ने ठाउँको विस्तार गरिएको बताइन् । ‘अब एकपल्टमा तीन जना विरामीको स्याम्पल लिन सकिने छ । शिक्षण संस्थाको अस्पताल भएको हुँदा प्राचार्य डा.लक्ष्मी पाठकको संयोजकत्वमा बेसिक साइन्सका शिक्षकहरु (बायोकेमिष्ट्रि, माइक्रोबायोजोली र प्याथोलोजी विभाग), अस्पतालका ल्याबका स्वास्थ्यकर्मी, मेडिकल सुपरीटेन्डेन्ट, अस्पतालका कार्यकारी निर्देशक सबैलाई समेटेर यो ल्याब संचालनमा ल्याइएको जनाइएको छ ।

अस्पतालमा शुक्रबारदेखि हार्डजोर्नीको बाथरोग पहिचानको लागि गरिने एचएलए बी२७ भन्ने परीक्षण सुरु भइसकेको छ । यस्तै, टीबी पीसीआर, डेंगु पीसीआर र पाठेघरको मुखको क्यान्सर बनाउने भाइरस (एचपीभी) पीसीआरको लागि चाहिने रासायनिक किट खरिद प्रक्रिया सुरु भइसकेको अस्पतालले जनाएको छ । किट १५ दिनभित्र उपलब्ध हुने र त्यसपछि परीक्षण संचालनमा आउने जनाइएको छ ।
यी रोगहरुको परीक्षण्का लागि चाहिने स्याम्पल (रगत, खकार, छातिको पानी, ढाडको पानी) भैरहवा–बुटवल आसपासमा रहेका सबै ल्याबहरुले लिने गर्छन् । तर, परीक्षण गर्न काठमाडौ लगायतका ठाउँहरुमा पठाउने गर्दै आएका छन् । तर, रिपोर्ट आउन भने हप्ता दिन लाग्दा विरामीले दुःख पाउने गरेका छन् । अब, भने मेडिकल कलेजमै अन्य अस्पतालहरुमा उपचाररत बाहिरका विरामीले पनि यी जाँचहरु यही गराउन सक्नेछन् ।