भैरहवा, साउन २५ । बुटवल हस्पिटल प्रा.लि.ले पश्चिमाञ्चल यातायात (ट्रक) व्यवसायी समितिसँग उपचार सहजता सम्झौता गरेको छ । आकस्मिक दुर्घटना या अन्य बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि उक्त समझौता गरेको हो । भर्खरै मात्र आफ्नै सुविधासम्पन्न भवनबाट सेवा सुरु गरेको बुटवल हस्पिटल प्रा.लि.ले ट्रक व्यवसायी समितिसँगै सम्झौता गरेसँगै समितिमा आबद्ध यातायात व्यवसायीहरुले दुर्घटना वा कुनै घटनामा हुने बिरामीको उपचार गराउने भएका छन् । त्यसै गरी उपचार गर्न जाने बिरामीहरुका लागि लाग्ने शुल्कमा हस्पिटलले विभिन्न उपचारमा छुट सुविधा उपलब्धता गराउने भएको छ । सम्झौतापछि ट्रक समितिको सिफारिसमा बुटवल हस्पिटलले बिरामीको उपचार गर्नेछ । संस्थागत सिफारिसमा आउने समितिमा आबद्ध व्यवसायीहरु, कर्मचारी तथा उनका परिवारका सदस्यहरुका लागि अस्पतालले विशेष छुटसहित उपचार गर्ने गरी लिखित सम्झौता गरेको हो ।सम्झौतामा बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित प्रसाद खरेल, अस्पतालका मेडिकल निर्देशक डा.कृष्ण खनाल र जनरल म्यानेजर देवेश कर्णले हस्ताक्षर गरेका छन्। त्यस्तै ट्रक व्यवसायी समितिका तर्फबाट वरिष्ठ उपाध्यक्ष कमल घिमिरे, सचिव बसन्त खड्का र मुख्य सहायक हिक्मत आचार्यले हस्ताक्षर गरेका छन् ।सो अवसरमा बुटवल हस्पिटल प्रा. लि.का उपाध्यक्ष खरेलले बुटवल हस्पिटल सरल सहज सुविधासम्पन्न अस्पताल बनेको बताउँदै अबका दिनमा यहाँका बिरामीहरु उपचारका लागि भारतीय शहरहरुमा जानुपर्ने अवस्थामा कमी ल्याउने उद्देश्य रहेको बताए । उनले भन, ‘अहिले पनि धेरै बिरामीहरु भारतीय शहरहरुमा जाने र ठुलो धनराशी खर्च गर्ने अवस्था छ, हामीले त्यसलाई रोक्ने र गुणस्तरीय सेवा दिने विषयमा लाग्नुपर्दछ । ’ उनले देशभरी नै सञ्जाल रहेको समितिसँगको सहकार्यले बिरामीहरुलाई थप सेवा र सहजता हुने बताए ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै ट्रक समितिका वरिष्ठ उपाध्यक्ष कमल घिमिरेले यस क्षेत्रमै अस्पतालकै लागि भनेर बुटवल हस्पिटलको भवन बनेको भन्दै यहाँको सेवासुविधाले बिरामीहरुलाई काठमाडौं पठाउन नपर्ने बताए । उनले भने, ‘बुटवलमा पहिलोपटक अस्पताल बनेको छ, अब यहाँका बिरामीलाई महंगो शुल्क तिरेर काठमाडौं वा भरत पढाउन पर्दैन, यो अस्पताल बुटवलबासीको हो । यसलाई सबैले सहयोग गरेर बचाउनुपर्छ । बुटवल हस्पिटलसँग ट्रक समितिको उपचार सम्झौतासँगै सो समितिमा आबद्ध व्यवसायीहरुका लागि पनि सहज हुने समितिका सचिव बसन्त खड्काले बताए ।सम्झौता भएसँगै अब पश्चिमाञ्चल यातायात व्यवसायी समितिका ढुवानीका साधनहरुसँग सम्बन्धीत दुर्घटना हुँदाका बिरामीहरुका साथै, कर्मचारी, मजदूर, व्यवसायी र उनीहरुको परिवारको उपचार बुटवल हस्पिटलमा विशेष छुटसहित हुनेछ ।