भैरहवा, भादौ ०९ । रामेछापको दोरम्बा शैलुङ ३ मा गएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ ।पहिरोमा परी ४ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।पहिरोले ४ वटा घर र एक पक्कि पुल बगाएको छ । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ।जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पहिरोमा परी ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आयुष श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठकी ११ वर्षीया छोरी अञ्जना घाइते छिन् ।घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, टोकरपुर र दोरम्बाका प्रहरीहरु खोज तथा उद्धारमा परिचालित भएका छन् ।
गएरातिको पहिरोले शैलुङ गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ । प्रहरीका अनुसार आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पु¥याएको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको थियो । त्यसअघि नै टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो । तर बाटोमा पर्ने अँधेरी खोलाको पुल पनि भत्किएकाले प्रहरीहरु घटनास्थल पुग्न ढिलो भएको थियो ।