भैरहवा, भादौ ०९ । भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो ।बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।केही भारतीय सञ्चारमाध्यमले नेपाली तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको जनाएका छन् । सो दुर्घटनामा कम्तीमा २५ जना तीर्थयात्री घाइते भएका छन् । बसमा ४३ यात्री सवार रहेको जनाइएको छ ।
उनीहरु देवघरतर्फ गइरहेका थिए ।घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र सामान्य चोट लागेका केहीलाई उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ ।