भैरहवा, १३ भदौ । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीद्वारा सञ्चालित प्रोफेसनल लिडरसीप डेभलपमेन्ट प्रोग्रामको २५ औं श्रृंखला पूरा भएको हो । सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संगठनको सभाहलमा प्रत्येक शुक्रबार यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । २५ औैं श्रृंखला पूरा भएको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले यस्तो कार्यक्रमले नेतृत्वसीप क्षमताको विकासमा टेवा पुग्ने बताए । उनले भने, ‘यो कार्यक्रम (तालिम) बाट अरुलाई पनि फाइदा होस् । राम्रो सोचका साथ कार्यक्रम गर्दै आउनुभएको छ । प्रशिक्षक विजय पाण्डेलाई धन्यवाद दिन चाहन्छु । ’ उनले सडक वरपर रहेका फूल नटिप्न र नगरलाई सुन्दर बनाउने अभियानमा सहयोग गर्न आग्रह गरे ।उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले उद्योगी–व्यवसायीको हकहितसँगै संगठनले सामाजिक र सीपमूलक कार्यक्रम गर्दै आएको बताए । उनले नेतृत्व र व्यक्तित्वको विकास गर्ने उद्देश्यले प्रोफेसनल लिडरसीप डेभलपमेन्ट प्रोग्राम सञ्चालन गर्दै आएको बताए ।कार्यक्रम (तालिम) का प्रशिक्षक विजय पाण्डेले तालिम समापन नभइ २५ औं श्रृंखला पूरा भएको बताए । उनले भने, उ‘द्योग व्यापार संगठन, रुपन्देहीमा महिलाको सक्रियता बढ्दो छ । ’संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले उद्योगी–व्यवसायीलाई उद्योग–व्यवसाय सञ्चालनसँगै नेतृत्वसीप क्षमताको विकास गर्नुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताए ।संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीले यो तालिम गर्नुपर्छ भन्ने आफूले जोड दिदै आएको बताए । उनले तालिमलाई निरन्तरता दिदै अझ व्यवस्थित बनाउन आग्रह गरे ।ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी जयकुमारीले तालिम समयको आवश्यकता भएको बताइन् । उनले आध्यात्मिक चिन्तनले सफल र सुखी बन्न सक्ने बताइन् ।उद्योग व्यापार संगठन, रुपन्देहीका सचिव तथा कार्यक्रम संयोजक गौतम कुमार गुप्ताले तालिमलाई अगाडि बढाउन स्थानीय सरकारको पनि साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले यसपछि अर्को श्रृंखलादेखि रोजगारी कसरी दिने, कसरी उद्यमी बनाउने लगायतका विषयमा तालिम केन्द्रीत हुने जानकारी दिए ।उद्योग व्यापार संगठन, रुपन्देहीका सचिव तथा प्रवक्ता कृष्ण प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको संगठनका उपाध्यक्ष राम मिलन यादवले बताए ।