दिपेश पछाई ,
लुम्बिनी पौष ४/
विगत दश वर्ष देखी लुम्बिनी बिकास कोष भित्र रहेका विहार र लुम्बिनी होटल संघ नेपाल विचकोे विवाद समाधान भएको छ ।
लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार गुम्बाहरुमा तीर्थयात्रीहरुलाई होटलमा जस्तै सुविधा दिएर राखेको बिषयलाई लिएर लामो समयदेखि विवाद सृजना हुँदै आएको थियो ।
होटेल व्यवसायी र गुम्बा विहारको बिषयले अन्तर्राष्ट्रियस्तरमा समेत नकरात्मक प्रचार हुन नदिन कोषकै नेतृत्वमा लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१ तयार गरेर कार्यान्वयनमा लैजादै लुम्बिनीमा आध्यात्मीक वातावरण वनाउने सहमती भएको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाको पहलमा ८ बुदे सहमति गर्दै कार्यविधि बनेसँगै उत्पन्न विवाद समाधान भएको हो । डां लामा लुम्बिनी बिकास कोषको उपाध्यक्ष न्युक्त भएर लुम्बिनी आए संगै लुम्बिनीमा आध्यात्मीक वातावरण बनाउन लामो समय देखी बिहार क्षेत्रका गुम्वा र होटल बिचको विवाद दिर्घकालीन रुपमा समाधान गर्न लागी परेका थिए ।
लुम्बिनी विकास कोषको नेतृत्वमा लुम्बिनी होटल संघ, लुम्बिनी साँस्कृतिक नगरपालिका र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समेत संलग्नतामा होटल र विहारका बिषयमा देखिएका समस्याहरु समाधान गर्ने गरी कार्यविधि वनाएर समस्या समाधान गरेका छौ लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द्ध ज्ञवालीले भने ।
बुधबार लुम्बिनी क्षेत्रबाट प्रतिनिधित्व गर्ने रुपन्देही क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेको उपस्थितीमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमे) सहित होटल व्यवसायी, विहारका प्रतिनिधिहरुको बैठकले विवाद समाधान गर्दै कार्यविधि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको लुम्बिनी बिकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताए ।

दुई पक्ष बीचमा भएको सहमती पूर्ण रुपमा कार्यान्वयन गर्न लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले निर्देशन दिएका छन् । आफू लुम्बिनीमा आध्यात्मिक वातावरण बनाउन दिनरात खटिएको बताउँदै लामो समयदेखि होटल व्यवसायी र गुम्बाविहारका विचको द्धन्द्ध अन्त्य गर्न सफल भएको बताए ।
विवादले अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको गलत सन्देश गइरहेकोमा अब त्यसको अन्त्य भएको डा लामाको भनाई छ । लुम्बिनी विकास कोष सहित होटल व्यवसायी र गुम्बाविहारका प्रतिनिधिहरुविचको छलफलबाट कार्यविधि तयार पारिएकाले अब यसको कार्यान्वयन सबै मिलेर गर्नुपर्ने उपाध्यक्ष डा. लामाले बताए ।
बुद्धजन्मस्थल लुम्बिनीमा विश्वभरका बौद्धमार्गीहरुलाई आर्कषित गर्न सक्नुपर्ने बताउँदै गुम्बा विहार र होटलको समस्या एकैठाउँमा बसेपछि समाधान भएको उनले बताए । अब आध्यात्मिक वातावरण बनाउनका लागि सबैले हातेमालो गर्नेबेला आएको बताए । भिक्षु, लामा गुरुहरु लुम्बिनी आउन पाउँदा निकै खुशी हुने बताउँदै उपाध्यक्ष डा. लामाले सामान्य विवादले पनि अन्तर्राष्ट्रियस्तरमा गलत सन्देश जाने भएकाले सबै सचेत हुनुपर्ने बताए ।
कार्यविधि कार्यन्वयनका सम्बन्धमा भएको छलफलमा प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लुम्बिनीमा गुम्बा विहार र होटल व्यवसायीविचको असमझदारीलाई कार्यविधि बनाएर हल गर्नु निकै सकरात्मक भएको बताए । उनले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकाले यहाँ विश्वभरका पर्यटकरुलाई आर्कषित गर्ने गरी वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले लुम्बिनीमा सरसफाईको समस्या जटिल भएकाले यसतर्फ ध्यान दिएर कार्य गर्न सुझाव दिए ।
यस्तै लुम्बिनी होटल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले गुम्बाविहार र होटल व्यवसायीविच भएको असमझदारी कार्यविधि बनेसँगै अन्त्य भएको बताए । उनले कार्यविधिको इमान्दारीपूर्वक कार्यान्वयन गर्न आग्रह समेत गरे ।
कार्यविधिले गुम्बाविहारमा निश्चित संख्यामा भिक्षु, लामा भन्ते, आर्थिक अवस्था कमजोर भएका तीर्थयात्री र चन्दादाताहरुलाई मात्रै राख्ने र होटल व्यवसायीहरुले समेत गुम्बाविहारमा आएका धार्मिक तीर्थयात्रीहरुलाई आत्मिक स्वागत सत्कार गर्ने गरी कार्यविधि तयार पारिएको जनाइएको छ । छलफलमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), कार्यकारी सदस्य श्याम रोक्का, बरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, लुम्बिनी होटल संघका बरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा, महासचिव पुरुषोत्तम अर्याल लगायतको उपस्थिती थियो ।