Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’


  • लुम्बिनी चिन्तन
  • माघ ११, २०८१ शुक्रवार
  • 286
    SHARES

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

११ माघ,बुटवल ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको शुक्रबार ब्रेक थ्रु भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ दोभान नजिकै आयोजनाको बेस क्याम्पमा औपचारिक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेपछि ‘ब्रेक थ्रु’ भएको हो ।

प्रधानमन्त्रीको सम्बोधनपछि ‘ब्रेक थ्रु’ उत्सवका लागि खन्न बाँकी राखिएको १.८ मिटर भागमा प्राविधिकले ब्लास्ट (विष्फोट) गराएर छिचोलेको थियो । दक्षिणतर्फ सिद्धबाबा मन्दिर र उत्तरतर्फ तिनाउ जलविद्युत आयोजनाको हेडaक्सतिरबाट खनिँदै आएको सुरुङ छिचोलिएको छ ।

ब्रेक थ्रु उत्सव समारोहलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिद्धबाबा क्षेत्रमा हरेक वर्ष बस दुर्घटना हुने, सवारी साधनहरु पहिरोमा पर्ने समस्याबाट नागरिक पीडित भएको समस्या देखेर त्यसलाई अन्त्य गर्न सुरुङ मार्ग बनाउन सुरु गरिएको बताए ।

सुरुङ बनेपछि पाल्पा, पोखरा लगायत जिल्ला आवत जावत गर्न सुक्षित हुने र कुनै समस्या नआउने प्रधानमन्त्री ओलीले उल्लेख गरे । प्रधानमन्त्रीले अहिलेको संयुक्त सरकारले सुशासन र विकासमा ध्यान दिएको जिकिर गरे ।

उनले छोटो समयमै सुरुङको ब्रेक थ्रु अवस्थामा ल्याइपुर्‍याएको भन्दै चिनिया निर्माण कम्पनीलाई धन्यवाद दिए ।

यसअघि सुरुङमार्ग अन्तर्गत १५१ मिटर लम्बाईको पहिलो बाइपास टनेल गएको असोज ४ मा, १३० मिटर लम्बाइको तेस्रो बाइपास टनेल गएको भदौ २६ मा र १६१ मिटरको दोस्रो बाइपास टनेल गएको पुस ७ गते ब्रेक थ्रु गरिएको थियो ।

समारोहमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पुर्वाधार विकास मन्त्री देवेन्द्र दाहाल,लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत उपस्थित थिए ।

आयोजनाका अनुसार दुवैतर्फको रिबसहित सुरुङमार्गको कूल लम्बाइ एक हजार १२६ मिटर भएपनि खन्नुपर्ने टनेलको भाग भने एक हजार ८९ मिटर मात्रै हो । मुख्य सुरुङ सिद्धबाबा मन्दिरतर्फ दक्षिणबाट ६१० र तिनाउ जल विद्युतको हेडबक्सतर्फ उत्तरबाट ४७७.२ मिटर खन्ने काम सम्पन्न भएको छ ।

हालसम्म आयोजनाको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत भएको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको दोभानदेखि सिद्धबाबासम्म अग्लो भीर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडक खण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो झरिरहन्छ । यो खण्डको झण्डै ४ किलोमिटर सडक बर्खा र हिउँद सधैँ पहिरोको उच्च जोखिममा पर्ने गरेको छ ।

सोही जोखिमलाई मध्यनजर गरी सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको हो ।

७ अर्ब ३४ करोड २१ लाख रूपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार २०८३ चैतभित्र सुरुङमार्गको काम सम्पन्न गर्नुपर्ने छ ।

टनेलको ब्रेक थ्रु भएपछि सुरुङभित्रको भूईं र भित्ता ढलान (लाइनिङ),गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलान, विद्युतिकरण, भेन्टिलेसन, नालीलगायतका कामहरू शुरु गरिने आयोजना प्रमुख अधिकारीले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार