भैरहवा फागन ५/
महाकुम्भ मेला स्नान गरी फर्किँदै गरेको गाडी भारतमा दुर्घटना हुँदा रुपन्देहीको देवदहका तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् । मृत्यु हुनेहरूमा देवदह नगरपालिका– ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गंगा शर्मा रहेको देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले बताइन् ।
कुम्भ मेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ वाराणसी रोडको डिभाइडरमा ठोक्किएर उनीहरू सवार युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी घाइते हुनेमा देवदह– ९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडीचालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि गोरखपुर पठाइएको भारतीय प्रहरीबाट जानकारी आएको इन्स्पेक्टर सेनले बताए ।
देवदह नगरपालिकाका पूर्वमेयर हिरा कुँवर, वडाध्यक्षसहितको ३५ जनाको टोली तीन दिन अगाडि पाँचवटा गाडी बुक गरी महाकुम्भ मेला गएको उपमेयर गुरुङले बताइन् ।