भैरहवा फागुन १५।
व्यस्त हाइवेमा कानुनविपरीत गुडेको भन्दै इ–रिक्सालाई तत्काल व्यवस्थित गर्न यातायात व्यवसायीले स्थानीय सरकारसँग माग गरेका छन्। सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी यातायात व्यवसायीहरूले नियमविपरीत सञ्चालित इ–रिक्सा तत्काल व्यवस्थित गर्न माग गरेका हुन्।
‘कानुनी रूपमा हाइवेमा इ–रिक्सा चलाउन प्रतिबन्ध छ। पहिलो कुरा, इ–रिक्सा चालकसँग लाइसेन्स नै छैन, दोस्रो कुरा हाइवेमा इ–रिक्सा दुर्घटना भए जवाफदेही निकाय नै छैन,’ सिद्धार्थ सार्वजनिक यातायात प्रालिका अध्यक्ष संजीव रोक्काले भने,’ ट्राफिक नियमबारे जानकारीसमेत नभएकाले इ–रिक्सा चलाइरहेका छन्। यसले कुनै पनि दिन ठुलो दुर्घटना निम्त्याउन सक्छ।’
अहिले भैरहवा–बेलहिया–सुनौली सडकखण्डमा दैनिक पाँच सय बढी इ–रिक्सा ओहोरदोहोर गर्छन्। यात्रुहरूको सहजताका लागि भित्री सडकमा सञ्चालनमा रहेका इ–रिक्साहरू राजमार्गहरूमा समेत गुड्न थालेका छन्। यी विषयमा अब सिद्धार्थ सञ्जालले नै बहस चलाउनुपर्नेमा यातायात व्यवसायी एकमत छन्।
कार्यक्रममा यातायात व्यवसायी सियारमा यादवले सिद्धार्थनगर नगरपालिकामा बसपार्क भए पनि व्यवस्थित रूपमा सञ्चालन हुन नसक्दा नगरपालिकाले राजस्व गुमाउने अवस्था आएको बताए। स्थानीय सरकारले आफैँले बनाएको बसपार्क सञ्चालन गर्न नसक्दा व्यवसायीको लाखौँको लगानी जोखिममा परेको उनको भनाइ छ।
भारतीय नम्बर प्लेटका गाडीहरूलाई निर्वाध रूपमा नेपालभर जान पाउने नियमलाई परिमार्जन गर्नसमेत व्यवसायीहरूले सुझाव दिए। सीमानाकाबाट सामान्य शुल्क दिएको भरमा नेपालभर गुड्न पाउने नियमलाई परिमार्जन गर्न आवश्यक रहेको यादवले बताए।
सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले व्यवसायीहरूका समस्यालाई लिएर सरकारको ध्यानाकर्षण गराउने बताए। आफूहरूले उठाएका समस्या व्यवसायीको मात्र समस्या नभएर समग्र अर्थतन्त्रमा समेत प्रभाव पार्ने विषय रहेका उनको भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी ट्राफिक प्रहरी निरीक्षक रन्जु केसीले कानुनविपरीत सञ्चालनमा रहेका तीन सय बढी इ–रिक्सालाई जरिवाना गरेको बताइन्। भैरहवामा मात्रै सिद्धार्थनगर नगरपालिकामा दर्ता भएका करिब पाँच सय रिक्सा सञ्चालनमा छन्। दर्ता नभएका इ–रिक्साहरूको संख्या पनि सोही हाराहारीमा रहेको नगरपालिकाले जनाएको छ।