बुटवल । शिक्षकहरूमा कोरोना संक्रमण देखिएपछि बुटवलको कालिका मानवज्ञान माविमा पठनपाठन बन्द गरिएको छ।
गत साता टनकपुर तथा भारतका विभिन्न स्थानमा शैक्षिक भ्रमणको लागि गएका विद्यालयका शिक्षकहरूमा कोरोना संक्रमण देखिएपछि वैशाख २ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गरिएको बुटवल उपमहानगरपालिकाको स्वास्थ्य तथा शिक्षा महाशाखाले जानकारी दिएको छ।
उपमहानगरपालिकाका स्वास्थ्य तथा शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले विद्यालयका ७ जना शिक्षकहरूमा कोरोना संक्रमण देखिएपछि गत शुक्रबारदेखि नै विद्यालय बन्द गरिएको जानकारी दिए।
विद्यालयबाट प्रधानाध्यापकसहित करिब १ सय जना शिक्षकहरू शैक्षिक भ्रमणको लागि गएकोमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अरू सबै शिक्षकहरू होम–आइसोलेसनमा छन्।
यस्तै, बुटवल १२ ढवाहस्थित ग्लोबल पिसपार्क पनि बन्द गरिएको छ। ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा सञ्चालित पिसपार्कमा रहेका ब्रम्हाकुमारीहरूमा पनि कोरोना संक्रमण देखिएपछि पिसपार्क बन्द गरिएको हो। भारतबाट फर्किएका ४ जना ब्रम्हाकुमारीमा कोरोना संक्रमण पुष्टि भएको खनालले जानकारी दिए।चैत महिना लागेसँगै रूपन्देही लगायतका क्षेत्रमा कोरोना संक्रमितहरूको संख्या बढ्दै जान थालेको छ। सोमबारमात्रै बुटवल कोरोना विशेष आइसोलेसन अस्पतालमा भर्ना भएका ३ जना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा मृत्यु हुने संक्रमितको संख्या १ सय ५७ पुगेको छ। त्यस्तै, सोमबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै हालसम्म कोरोना संक्रमण देखिएकाहरूको संख्या ९ हजार २ सय ५६ पुगेको छ भने ८ हजार ९ सय ७८ जना संक्रमणमुक्त भइसकेका छन्।