भैरहवा बैशाख ११/
नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा पत्रकार आक्रमण गर्ने र संम्रक्षण गर्नेप्रहरीलाई कार्वाहीको माग गरेकी छन् ।
पत्रकार राधेश्याम विश्वकर्माको न्यायको माग गर्दै लुम्बिनी प्रेस क्लबको अगुवाईमा बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडि भएको एक घण्टा धर्ना कार्यक्रममा सहभागी अध्यक्ष शर्माले पत्रकारको आन्दोलन प्रति एक्येबद्धता जनाउँदैं आरोपीलाई तत्काल पक्राउ गर्न माग गरिन् ।
रुपन्देहीको मायादेवी–६, मा पत्रकार विश्वकर्मामाथि आफूलाई दीपेश यादव बताउने तस्करहरुको सात–आठजनाको समूहले संचार उपकरण खोसेर आक्रमण प्रयास गरेका थिए ।
उक्त घटनमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दै लुम्बिनी प्रेस क्लबले आन्दोलन सुरु गरेको हो ।
लोकतन्त्र दिवसकै दिन पत्रकार र उनीहरुले संकलन गरेका समाचार सामाग्रीको सुरक्षा माग गर्नुपर्ने अवस्था आउनु दुःखद भएको उनले बताइन् । ‘प्रेस स्वतन्त्रका लागि हामी निरन्तर लड्यौं,’ उनले भनिन्, ‘पत्रकारले संकलन गरेका फुटेज र कन्टेन्ट डिलिट गर्न लगाइएको घटनाको घोर भत्र्सना गर्दछु ।’ लुम्बिनी प्रेस क्लबले गरिरहेको आन्दोलनमा ऐक्यबद्धता व्यक्त गर्दै उनले मिडियामाथिको कुनै पनि हमला सैह्य नहुने बताइन् ।
‘हामीले अहिले राजाबादी आन्दोलनक्रममा मारिएका पत्रकार सुरेश रजकको घटना छानबीनको माग गर्दै आन्दोलनमा छौं,’ उनले भनिन्, ‘यसैक्रममा फिल्डमा खटिएका पत्रकारका समाचार सामाग्री डिलिट गरिनु गम्भीर विषय हो । अब हाम्रो आन्दोलनमा यो विषय पनि समावेश भएको छ ।’ शर्माले पक्राउ परेका व्यक्ति भगाउन सहयोग गर्ने प्रहरीलाई समेत कारबाही माग गरिन् ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले रिर्पोटिङ गरिरहेका पत्रकारलाई घेराबन्दी गरेर फुटेज डिलिट गर्न बाध्य तुल्याइनु लोकतन्त्रकै उपहास भएको बताए । ‘प्रहरीले नियन्त्रणमा लिइसकेका आरोपी भगाएर तस्करकोे संरक्षण गरेको देखिएको छ,’ उनले भने, ‘तत्काल तस्कर समूह पक्राउ गर्नुपर्यो ।’ आरोपी व्यक्ति पक्राउ नपरेसम्म कुनै हालतमा आन्दोलन रोक्न नहुने उनले बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले पत्रकार विश्वकर्मामाथिको आक्रमण सिंगो प्रेसमाथि भएको बताए । लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना र सल्लाहकार कुलमणि ज्ञवालीलले तस्करहरुको मनोबल बढ्ने गरी प्रहरीले काम गरिरहेको बताए ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले घटना संवेदनशील भएकाले जानकारी पाउनासाथ आवश्यक कारबाहीका लागि निर्देशन गरिसकेको जानकारी दिए । आरोपीलाई पक्राउ पूर्जी जारी गरेर खोजिलाई तिव्रता दिइएको घिमिरेले बताए ।
घटनास्थलमा रहेका प्रहरी र सरोकारवाला कार्यालयका प्रहरी अधिकृतसित जिल्ला प्रहरीले स्पष्टिकरण सोधेर आवश्यक कारबाही अगाडि बढाइसकेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।