भैरहवा, बैशाख २१ । सशस्त्र प्रहरी बल, नेपालले रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका–५ स्थित पकडी इलाकाबाट अबैध रूपमा भारतबाट नेपाल भित्र्याइएको ६ बण्डल लत्ताकपडा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसो २ बजेतिर इट्टाभट्टामा लुकाएर राखिएको अवस्थामा ६ बण्डल लत्ताकपडा फेला पारेको हो।
१० जनाको मोबाइल गस्ती टोली प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदिप कुमार बस्नेतको कमाण्डमा खटिएको टोली रहेको थियो। बरामद गरिएको लत्ताकपडाको अनुमानित बजार मूल्य रु १५ लाख ९१ हजार ३ सय रहेको बताइएको छ।
बरामद सामग्रीलाई आवश्यक कानुनी प्रक्रिया पश्चात भैरहवा भन्सार कार्यालय, बेलहिया, रुपन्देहीमा दाखिला गरिएको सशस्त्र प्रहरी बल, नेपालले जानकारी दिएको छ।