भैरहवा, जेठ ०९ । श्री शिक्षा विकास तथा समन्वय इकाई, रुपन्देहीको आयोजनामा पाठ्यक्रम तथा पाठ्यपुस्तकको गुणस्तर सुधारका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। इकाइको स्वीकृत वार्षिक कार्ययोजना अनुसार आयोजना गरिएको कार्यक्रममा जिल्लाका विभिन्न शैक्षिक संस्थाका शिक्षकहरु, प्राधानाध्यापकहरु, विद्याथीहरु, अभिभावक, तथा व्यवस्थापन समितिका पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा शिक्षण सिकाइमा प्रयोग हुने पाठ्यपुस्तक र पाठ्यक्रम सामग्रीहरूको गुणस्तर, प्रयोगशीलता, समावेशिता र वर्तमान शैक्षिक आवश्यकता अनुकूलताको विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रमको बारेमा प्रकाश पार्दै पाठ्यक्रम बिकास केन्द्रका निर्देशक बद्रि तिमल्सिनाले कार्यक्रम गर्नुको मूख्य उद्येश्य भनेको सरोकारवालाहरुले अहिले मौजुदा विद्यालय तहमा पठनपाठन भइरहेको पाठ्यक्रममा के कस्ता कमी कम्जोरीहरु छन, ति कमी कम्जोरीलाई कसरी सुधार गरेर लैजान सकिन्छ र नयाँ के कुरा ल्याउन सकिन्छ भन्ने उद्येश्यले यो छलफल गरीएको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले पाठ्यपुस्तक निर्माण तथा पुनरावलोकन प्रक्रियामा आफ्नो सुझाव तथा अनुभवहरू राख्नु भएको थियो । सहभागीहरूले विद्यार्थीमैत्री, व्यावहारिक तथा प्रयोगात्मक शिक्षण विधिलाई प्राथमिकतामा राख्दै पाठ्यपुस्तक परिमार्जन गर्नुपर्ने माग समेत राखेका थिए।
अन्तरक्रिया कार्यक्रममा शिक्षणका लागि, विद्यार्थीका लागि र अभिभावक तथा सरोकारवालहरुका लागि प्रश्न सहित सुझावहरु संकलन गरिएको थियो ।
कार्यक्रमले ५० जनाको सहभागीता रहेको थियो । पाठ्यक्रम तथा पाठ्यपुस्तक विकासमा सरोकारवालाको भूमिकालाई अझ सशक्त बनाउने अपेक्षा कार्यक्रमले गरेको छ।