भैरहवा, जेठ १९ – केहीदिन यता सार्वजनिक यातायात व्यवसायीहरूले पेश गरेको सात बुँदे मागसहितको आन्दोलनले देशको अर्थतन्त्रमा गम्भीर असर पार्ने सिद्धार्थ सञ्जाल, रुपन्देहीले चिन्ता व्यक्त गरेको छ । कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक मन्दीले पहिले नै थलिएको व्यवसाय क्षेत्र थप संकटमा पर्ने देखिए सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली बताउछन् ।
अध्यक्ष ज्ञवालीले सोमबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक यातायात सेवा बन्द हुँदा उद्योग, व्यापार, पर्यटन र यात्रु सेवामा व्यापक असर पर्नसक्ने चिन्ता व्यक्त गरेका छन् ।
सञ्जालका अध्यक्ष ज्ञवालीले आन्दोलनरत पक्षका मागहरू न्यायोचित भएको बताउँदै, सरकारलाई तत्काल वार्तामा बस्न आग्रह गरेका छन्। उनले कोभिडपछिको आर्थिक कठिनाइका कारण व्यवसायीहरू घरजग्गा गुमाउने अवस्थामा पुगेको उल्लेख गर्दै, सेवा बन्दले आम नागरिकमा थप पीडा उत्पन्न हुने बताएका छन्।
ज्ञवालीले नेपाल सरकार र प्रदेश सरकारलाई समयमै संवाद गरेर समाधान खोज्न सुझाव दिएका छन्। आन्दोलन दीर्घकालीन भएमा देश पुनः आर्थिक अन्योलमा फस्ने जोखिम रहेको उनको चेतावनी छ।