भैरहवा, जेठ २३ । अध्यक्ष, लुम्बिनी साझेदारी वन उपभोक्ता समूहले वन संरक्षणसँगै सामाजिक विकासका क्षेत्रमा समेत उल्लेखनीय योगदान दिँदै आएको छ । समूहका अध्यक्ष राजेन्द्र प्रसाद चौधरीका अनुसार यो साझेदारी वनको क्षेत्रफल १३३० हेक्टर रहेको छ, जसबाट प्राप्त काठ र दाउरा उत्पादनको ५० प्रतिशत सरकारलाई बुझाइन्छ भने बाँकी ५० प्रतिशत वनमै राखेर उपभोक्तामाझ वितरण गरिन्छ।
“हामी बाँडफाँडका लागि २९ वडामा चिट्ठा प्रणालीमार्फत काठ वितरण गर्दै आएका छौं,“ अध्यक्ष चौधरीले जानकारी दिनुभयो।
समूहले कूल आम्दानीको ४० प्रतिशत जंगल संरक्षण तथा व्यवस्थापनमा खर्च गर्दै आएको छ। यस अन्तर्गत कटान, अग्नीरेखा निर्माण, तारबार जडान लगायतका कार्यहरूमा रकम विनियोजन गरिएको उहाँले बताउनुभयो।
सिचाइ र विकासका कामका लागि प्रत्येक वडामा ४ लाख रुपैयाँ बजेट छुट्याइएको छ। वडाहरूमा बोर्डिङ जडानको काम तीव्र रूपमा अघि बढाइएको छ र त्यसको नियमित अनुगमन समेत भइरहेको छ।
शिक्षाको क्षेत्रमा समेत यो समूहले हात अगाडि बढाएको छ। “हामी प्रत्येक वर्ष एउटा वडाको एउटा विद्यालयमा छात्रवृत्ति वितरण गर्दै आएका छौं,” अध्यक्ष चौधरीले भन्नुभयो।
साविकको सालझण्डीदेखि दसगजासम्म फैलिएको कार्यक्षेत्रभित्र ३० हजार घरधुरी र करिब २ लाख ५० हजार जनसंख्या बसोबास गर्छन्।
वन समूह अन्तर्गत करिब ६ वटा नर्सरी सञ्चालनमा छन्, जसको आम्दानी साझेदारी वनले नै उपयोग गर्छ। “यदि जनतालाई आवश्यक परेमा ती नर्सरीबाट बिरुवा निःशुल्क लगेर आफ्नो खेतबारीमा रोप्न सक्ने व्यवस्था गरेका छौं,” चौधरीले जनाउनुभयो।
समुहको यस्तो बहुआयामिक पहलले लुम्बिनी क्षेत्रको वन संरक्षण मात्र नभई सामाजिक उत्थानमा पनि सकारात्मक प्रभाव पार्दै आएको देखिन्छ।