भैरहवा, जेठ २५ । सिद्धार्थनगर नगरपालिकामा एशियाली विकास बैंक (एडिबी) को सहयोगमा दोश्रो चरणको कामहरु सुरुहुने भएकाछन् । सडक, पूर्वाधरका क्षेत्रमा यसअघि एडिबीले सिद्धार्थनगर नगरपालिकामा लगानी गरिसकेको छ । दोश्रोचरण अन्तर्गत करिब १ अर्ब १८ करोड रुपैयाँको सहरी पूर्वाधार विकास योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ। मन्त्रालय र एडिबी कार्यालयमा देखिएको प्रक्रियागत ढिलाइ हट्दै काम सुरु हुने भएको हो।
नगरप्रमुख इश्तियाक अहमद खाँ का अनुसार, “ एडिबी सँग सम्झौता भइसकेको छ। केही महिनाअघि नै योजना अघि बढ्ने भनिएको थियो, तर मन्त्रालयतर्फको कमजोरीले ढिलाइ भयो। अब बर्खापछि काम सुरु हुन्छ।“

यसैगरी उप–प्रमुख उमा अधिकारीले भन्नुहुन्छ “योजना पठाइसकेपछि मन्त्रालय र एडिबी को मुख्य कार्यालयमा अफिसियल ढिलासुस्तीका कारण समस्या आएको थियो। अहिले सबै प्रक्रिया पूरा भई एडिबी टिम नगरमै अफिस सेटअप गर्दैछ। नगर सरसफाईमा पनि एडिबी को भूमिका रहेको बताइन्।
सिद्धार्थनगर नगरपालिका अधिकृत जनक थापाका अनुसार, नेपाल सरकार र एडिबीको आपसी सम्झौतामा करिब सवा अरबको बजेटमा सिद्धार्थनगर नगरपालिकामा सडकहरु, नालीहरु, ढलहरु लगायतका क्षेत्रहरुमा काम गर्ने सम्झौता भएको बताउनुभयो । “लगानी संरचनामा ७५% नेपाल सरकार, १८% टिडिएफ (टाउन डेभलोप्मेन्ट फण्ड) को ऋण र ७% नगरपालिकाको हिस्सा रहनेछ।“ उहाँले भन्नुभयो ।
योजना प्रमुख साकार श्रेष्ठले परियोजनाबारे जानकारी दिँदै भने, “ एडिबी मार्फत दुई मुख्य योजना छन् — ‘डण्डा गोल्डक’ योजना (८० करोड बजेट) र ‘सहरी सडक सुधार’ योजना। यस अन्तर्गत १३ वडामध्ये ५ नं वडाबाहेक सबै वडामा २३.६ किमी सडक निर्माण हुनेछ। ठेक्का प्रक्रिया सकिएको छ र कार्यदेश १०–१५ दिनभित्र दिइनेछ।”उहाँले भन्नु भयो ।

यो परियोजना एडिबी र नेपाल सरकारको तेस्रो सहरी विकास परियोजना (यु.आर.एल.पी) हो। यसले सडक, नाली, ढल, स्ट्रीट लाइट, सिसिटिभि, फोहोर व्यवस्थापन जस्ता क्षेत्रमा सुधार ल्याउनेछ।
प्रक्रियागत ढिलाइपछि सिद्धार्थनगर नगरपालिकामा एडिबी को ठुलो लगानीको विकास आयोजना बर्खापछि कार्यान्वयनमा जाँदैछ। सरोकारवाला सबै पक्षले समन्वय गर्न थालेसँगै नगरको पूर्वाधार सुधारको आशा बढेको छ।