भैरहवा, जेठ २६ ।
रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमाक्षेत्रमा निर्माण भइरहेको अत्याधुनिक पेट्रोलियम भण्डारण गृहको माटो सम्याउने कार्य सम्पन्न भएसंगै दोस्रो चरणको काम सुरु भएका छन् । पहिलो चरणमा नदी कटान रोक्नका लागी माटो फिलिीड. गर्ने गेबिन जाली लगाउने र आप्नौ जग्गा सम्याउने काम गरेको परियोजनाले पहिलो चरणको काम सम्पन्न भए लगतै दोस्रो चरणको कामहरु असार लगतै गर्ने जनाएको छ ।
सोमबार नेपाल आयल निगम लिमिटेडका परियोजना प्रमुख प्रदीप कुमार यादव, काठमाण्डौ विश्वविद्यालयका डा. विवेक बराल तथा पेट्रोलियम विज्ञ एवं नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक शुशील भट्टराई सहितका टोलीले निरिक्षण गर्दै यस्तो बताएका हुन ।
परियोजना प्रमुख यादवका अनुसार ग्याभेन्जालको कार्य पूरा भइसकेको छ भने ल्याण्ड म्यानेजमेन्टको कामसमेत सम्पन्न भएको छ। अब परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । डीपीआर तयार गर्नका लागि काठमाडौं विश्वविद्यालय र भारतीय आयल कर्पोरेशनको मुम्बईस्थित कन्सल्टेन्ट ‘प्रोग्रेसिभ इन्जिनियर’ सँग सहकार्य भइरहेको छ।
काठमाण्डौ विश्वविद्यालयको कन्सल्टेन्सी सेवा विभागका प्रमुख डा. विवेक बरालले परियोजना बाढीको सम्भावित असरबाट सुरक्षित रहने गरी डिजाइन गरिएको बताउनु भयो । “हामी किनाराबाट धेरै पछाडि सरेर इन्फ्रास्ट्रक्चर बनाउने योजना बनाइरहेका छौं, ताकि पानी पस्दा पनि मेजर संरचनामा कुनै असर नपरोस्।” उहाँले भन्नु भयो ।
त्यसैगरी, पेट्रोलियम विज्ञ शुशील भट्टराईले परियोजना स्थलको चयन उपयुक्त भएको बताए। “पेट्रोलियम इन्फ्रास्ट्रक्चर पुल वा सडकजस्तै आवश्यक संरचना हो। खोलाको नजिक आयोजना हुनु खराब हैन, यो त हाईवेसँग जोडिएको हुनुपर्छ भन्ने हिसाबले पनि उचित हो,” उहाँले भन्नुभयो । भारतबाट आउने ट्याङ्करहरू यही चेकपोइन्ट हुँदै अन्य स्थानमा सप्लाइ गरिने भएकाले स्थान चयन रणनीतिक रूपमा उपयुक्त भएको उनको भनाइ थियो।
उक्त परियोजना सम्पन्न भएपछि क्षेत्रीय इन्धन आपूर्तिमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।