भैरहवा, २३ असार – रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जर्नादन यादव र सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपिन कुमार पाण्डेयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा लिएको छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, वडाध्यक्ष यादवले विभिन्न विकास योजनाका निर्माण कार्य सम्पन्नपश्चात भुक्तानी सिफारिस गर्न सेवाग्राहीसँग घुस मागेका थिए। माग गरिएको घुस रकम व्यापारी पाण्डेयमार्फत लिइएको अवस्थामा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले सोमबार दुवै जनालाई तीन लाख रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो।
अख्तियारका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। यादव २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।