भैरहवा, असार २४ – मस्तिष्कघात (पक्षघात) जस्तो गम्भीर स्वास्थ्य समस्याबारे जनचेतना फैलाउने उद्देश्यले नेपाल पक्षघात संघको सक्रिय अगुवाइमा बुटवलस्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा नेपाल पक्षघात संघका सदस्य गोकर्ण गौतमले सन् २०१४ देखि २०२५ सम्म संघले विद्यालय र समुदायमा नियमित रूपमा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराउँदै, “साना लक्षणहरूबारे विद्यार्थीलाई जानकारी भएमा बिरामीको समयमै उपचार सम्भव हुन्छ भन्ने उद्देश्यले विद्यालयहरूमा यस्ता कार्यक्रम गर्दै आएका बताउनु भयो ।
यसैगरी, कक्षा ११ मा अध्ययनरत विद्यार्थी सुजन ज्ञवालीले पक्षघात सम्बन्धी जानकारी पाएर आफू लाभान्वित भएको बताउँदै, “पक्षघात के हो, यसको लक्षण के–के हुन्छन् भन्ने विषयमा जानकारी पाउँदा निकै खुसी लागेको र आफूले सिकेको जानकारी अरूलाई पनि बाँड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता सराहनीय रहेको बताए ।
उहाँले भन्नु भयो, “सिर्फ आफू मात्र बाँच्ने होइन, अरूलाई पनि बचाउनु पर्छ भन्ने सन्देश यो कार्यक्रमले दिएको छ । यस्ता कार्यक्रम विद्यार्थीका लागि अत्यन्त लाभदायक छन्।”
कार्यक्रममा नेपाल पक्षघात संघकी सदस्य आशा पन्थ र फिजियोथेरापिस्ट मुस्कान रानाले पनि पक्षघात सम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रममा विद्यालयका शिक्षक विवेकराज पोख्रेल, शिबु न्यौपाने, लक्ष्मण गैरे, खेमलाल पाण्डे, किशोर विक, हरिस ओलीलगायत करिब १५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।