भैरहवा, असार २४ । चीनबाट आएको बाढीका कारण रसुवाको रसुवागढी क्षेत्रमा रहेको ड्याम साइडमा फसेका ५५ जनाको नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले मंगलबार दिउँसोसम्म उद्धार गरेको छ। उद्धार गरिएकामा ४ महिला, ५१ पुरुष र १ जना चिनियाँ नागरिक छन्। उद्धार झोलुङ्गे पुलमार्फत गरिएको हो। घटनामा हालसम्म १८ जना बेपत्ता भएका छन् भने बाढीले १०० भन्दा बढी गाडी बगाएको छ।
त्यसैगरी, रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा बाढीका कारण करिब ६० प्रतिशत भौतिक संरचना क्षतिग्रस्त भएको छ। नेपाल इन्टरमोडल विकास समितिका अनुसार १४ जना कामदार (८ नेपाली र ६ चिनियाँ) बेपत्ता छन्। बाढीले रिटेनिङ वाल, बेचिङ प्लान्ट, वेयरहाउस, पार्किङ यार्ड, इन्स्पेक्सन सेड, लिटिगेसन सेड लगायतका संरचनामा व्यापक क्षति पु¥याएको छ। मेन कम्प्लेक्स भवन र एक्जिट रोड बाहेक अधिकांश पूर्वाधार नष्ट भएका छन्।